काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले ‘ओरा गुड क्याट’ ९९ किलोवाटको मोटरमा नेपाल ल्याउने भएको छ । यसअघि कम्पनीले केही युनिट गुड क्याट आयत गरेर टेष्ट ड्राइभ गरेको भएपनि सरकारले कर बढाएसँगै यसको आयात रोकिएको थियो ।
कम्पनीले जेठ १५ गते आउने बजेटपछि गुड क्याट नेपाल ल्याउने तयारी गरिरहेको जनाएको छ । नेपालमा विक्री सुरु हुने चर्चासँगै शोरुममा ग्राहकको उपस्थिति बढेको कम्पनी स्रोतले भन्यो । अघिल्लो पटक ११० किलोवाटको मोटरमा रहेको कारण भन्सार र अन्तःशुल्क ३०/३० प्रतिशत तिर्नु परेको कारण मूल्य महंगो पर्ने कारण यसको आयात भएको थिएन ।
क्लासिक डिजाइनमा तयार भएको गुड क्याट युरोपियन डिजाइन र चिनियाँ टेक्नोलोजीको मिश्रण हो । ४२३५ एमएमको लम्बाई, १८२५ एमएम चौडाई र १५९६ एमएम उचाई रहेको कारमा २६५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
ओरा गुड क्याटमा बिरालोको आँखा जस्तो गोलो हेडलाइट र त्यसको वरिपरि भएको एलइडी डे टाइम रनिङ लाइटसँगै दिइएको साइड इन्डिकेटरले यसको ‘क्लासिक नेस’लाई प्रदर्शित गरेको छ ।
बाहिर डिजाइनसँगै यसको भित्री बनोट पनि लोभलाग्दो छ । यसमा ड्यूलटोन कलरमा सजाइएको ड्यासबोर्ड, ड्यासबोर्डमा दिइएको ठूलो टचस्क्रिन, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, क्लासिक थिममा दिइएको एसी कन्ट्रोल नब, पानारोमिक सनरुफ, वायरलेस चार्जर जस्ता सुविधाले चालक र यात्रुलाई फरक फिल दिन्छ ।

