काठमाडौं । मलेसियन ब्राण्ड पेरोडुआले आफ्नो पहिलो इलेक्ट्रीक मोडल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक ह्याचब्याकको नाम ‘क्यूभी-ई’ राखेर सार्वजनिक गरेको हो ।
यसलाई मलेसियाकै सबैभन्दा सस्तो इलेक्ट्रीक प्रिमियम ह्याचब्याक कार भनिएको छ । यसको मूल्य मलेसियन ८० हजार रिङगेट तोकिएको छ । जुन नेपाली रुपैयाँ २८ लाख हाराहारी हो ।
केही वर्ष अगाडिसम्म मलेसियन ब्राण्ड पेरोडुआका उत्पादन नेपाली बजारमा पनि बिक्री हुन्थ्यो । अहिले यसको आधिकारिक बिक्री हाम्रो बजारमा छैन ।
कम्पनीले अहिले यसको उत्पादन सीमित मात्रै गर्ने जनाएको छ । मासिक ५०० युनिट उत्पादन हुने भनिएको क्यूभी–ई सन् २०२६ को तेस्रो क्वाटरबाट मासिक ३ हजार युनिट उत्पादन गर्ने जनाएको छ ।
मलेसियाको ईभी नीति, गाडीको सुरक्षा, यात्रुमैत्री, मूल्यका हिसाबले पहुँचयोग्य गाडी उत्पादनमा लागेको बताउँदै पेरोडुआले भनेको छ, ‘निकै प्रतिस्पर्धी कार उत्पादन हाम्रो प्राथमिकता हो ।’

कम्पनीले क्यूभी-ई ह्याचब्याक कारमा ५२.५ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ । यसले सिंगल चार्जमा ४४५ किलोमिटर रेन्ज दिने एनईडीसीले जनाएको छ । यसको अनरोड रेन्ज ३५० किलोमिटर आसपास आउनेछ ।
गाडीको सुरक्षामा विशेष ध्यान दिँदै पेरोडुआले यसमा मिलिमिटर वेभ सेन्सिङको प्रयोग गरेको छ । त्यसले गाडी भित्रको अवस्थाका बारेमा चालकलाई सचेत गराउँछ । कम्पनीले केबल २८ महिनामा क्यूभी–ई मोडल तयार पारेर बजारमा ल्याएको हो ।
निकै स्पोर्टी डिजाइनमा देखिएको ब्यूभी-ई एसयूभीको फ्रन्ट निकै आक्रमक छ । यसको फ्रन्ट फेसिया झट्ट हेर्दा ओमोडा ई फाइभ जस्तै लाग्छ । पृथक हेडलाइट हाउजिङ, क्लोजअफ ग्रिल र तल्लो भागमा लामो एयरड्याम प्रयोग भएको छ ।
निकै सफा र स्पोर्टी साइड बडी प्रोफाइल भएको ह्याचब्याक कारमा फ्लस टाइप डोर ह्याण्डल, आकर्षक अलोय ह्वील र मोर्डन रियर डिजाइन दिइएको छ । पछाडिको लाइट वारपार कनेक्टेड छ ।
पेरोडुआले आफ्नो पहिलो ईभीको क्याविनमा १०.२५ इन्चको दुई वटा स्क्रीन दिएको छ । निकै मिनिमल डिजाइनको क्याबिन उपलब्ध कारमा रोटरी गियर नब, एम्बियन्ट लाइट, सेमी लेदर सिट प्रयोग गरेको छ ।
क्यूभी–ई मोडलमा टेलिमेटिक्स इन्ट्रीगेसन, एडाप्टिभ क्रुजकन्ट्रोल, हाइवे एसिस्ट, ट्रफिक जाम एसिस्ट, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पर्ट डिटेक्सन जस्ता फिचर सहितको एडास सिस्टम छ ।
कम्पनीले यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गरेको छ । जसले २८५ न्युटन मिटर पिकटर्क पैदा गर्छ ।

