दुई सडकखण्डको यी १८ ठाउँमा धमाधम बन्दैछन् ‘ओभरपास’, कहाँ कति भयो काम ?

सांकेतिक तस्बिर ।

काठमाडौं । सरकारले देशकै लाइफ लाइन (पूर्व-पश्चिम) महेन्द्र राजमार्गलाई चार लेन (सहरी क्षेत्र ६/८ लेनसम्म)मा स्तरोन्नति गरिरहेको छ । पूर्वको झापादेखि पश्चिमको कंचनपुरसम्म पुग्ने १०२७ किलोमिटर लामो यो सडक एशियाली मापदण्डको बनाउन लागिएको हो ।

एशियाली विकास बैंक (एडीबी) र विश्व बैंकको ऋण सहयोगमा यो सडक विस्तार भइरहेको हो । हाल पूर्व-पश्चिम राजमार्ग मध्ये ४३९ किलोमिटरलाई ५ खण्डमा ठेक्का लगाई धमाधम काम भइरहेको छ । हाल काँकडभिट्टा-लौकही (९६ किमी), कमला-कंचनपुर (८६.८३ किमी), कमला-ढल्केबर-बागमती (७४ किमी), नारायणघाट-बुटवल (११४ किमी) र बुटवल-गोरुसिंगे-चन्द्रौटा (६९ किमी) खण्ड निर्माणाधीन छन् ।

त्यस्तै, चालु आव भित्रै हेटौंडा-नारायणगढ (७० किमी) र बागमती-पथलैया (५६ किमी) खण्डको ठेक्का लगाउने सडक विभाग तयारी गरेको छ ।

पूर्व-पश्चिम राजमार्ग फराकिलो बनाउनुका साथै ट्राफिक जाम व्यवस्थापनका लागि आधुनिक सडक पूर्वाधार निर्माण अघि बढाइएको छ । यस सडकमा निर्वाध रूपमा सवारी आवात जावतका लागि फ्लाइओभर, ओभरपास/ अण्डरपास, सिग्नेचर ब्रिज, एनिमल क्रसिङ जस्ता पूर्वाधार निर्माण हुँदै छन् ।

जसमा हाल निर्माणाधीन काकडभिट्टा-लौकही र कमला-कंचनपुर सडकखण्डमा मात्रै १८ वटा ओभरपास/अण्डरपास निर्माण भइरहेका छन् ।विशेषगरी राजमार्गमा पर्ने मुख्य बजारका चोकहरूमा ओभरपास निर्माण भइरहेका हुन्।

कहाँ-कहाँ बनिरहेका छन् ओभरपास/अण्डरपास

काकाडभिट्टा-लौकही सडकखण्डमा मात्रै १० वटा ओभरपास/अण्डरपास निर्माण भइरहेको छ । यस सडकको १२० किमी मध्ये हाल ९५.७६ किमीको ठेक्का लागि धमाधम काम भइरहेको हो । जसमा काकडभिट्टा-सीतापुर ४५ किमी (पूर्वी) खण्डमा ३ वटा र सीतापुर-इटहरी ५०.६ किमी (पश्चिम) खण्डमा ७ वटा ओभरपास निर्माण भइरहेका हुन् ।

काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख (सीडीई) सुनिलबाबु पन्तले झापाको चारआली, बिर्तामोड र चारपानेमा ओभर पास निर्माण भइरहेको बताए ।

उनका अनुसार चारपानेमा सबस्ट्रक्चरको काम सकिएर सुपर स्ट्रक्चरको काम सुरू गरिएको बताए । त्यस्तै, चारआली र बिर्तामोडमा हालै काम सुरू भएको उनले बताए । अहिले फाउण्डेसनको काम भइरहेको उनको भनाइ छ ।

‘पूर्वीखण्डको ३ स्थानमा ओभरपास निर्माण भइरहेको छ । चारआलीमा सबस्ट्रक्चरको काम सकियो । चारआली र बिर्तामोडमा फाउण्डेसनको काम हुँदैछ,’ उनले मेरोअटोसँग भने ।

त्यस्तै, चारआली जंगलमा ‘इलिफेन्ट अण्डर पास निर्माण भइरहेको उनले बताए । अण्डर पासको उत्तरतर्फको स्ट्रक्चरको काम सकिएको छ भने दक्षिणतर्फ निर्माण सुरू गरिएको उनले बताए । अण्डर पास ६.५ मिटर चौडाइ र १५ मिटर लम्बाइको छ ।

पश्चिमखण्ड अन्तर्गत झापाको दमकमा ३ वटा, मोरङको बलिया, सुनसरीको तालतलैया चोक, इटहरी, कलंकीमा गरी ७ वटा ओभरपास निर्माण हुँदै छन् । तीमध्ये दमकमा दुई वटाको काम सुरू भएको योजना प्रमुख (सीडीई) जगत प्रजापतिले जानकारी दिए । सुनसरी र मोरङ खण्डका (तालतलैया, इँटहरी, कलंकी र बलिया)मा भने काम सुरू नभएको उनले बताए ।

‘पश्चिमखण्डमा ७ वटा ओभरपास निर्माण हुँदै छन् । तीमध्ये दकमको दुईवटामा काम थालिसकिएको छ । अरूको सुरू भएको छैन । चाँडै सुरू गर्ने तयारी छ,’ उनले मेरोअटोसँग भने । सीतापुर-इटहरी खण्डमै ६ वटा एनिमल क्रसिङ र २ वटा मंकी क्यानोपी ब्रिज पनि निर्माण हुँदै छन् ।

त्यस्तै, कंचनपुर-कमला (८६.८३ किमी) सडकखण्डमा ८ वटा ओभरपास बनिरहेका छन् । सप्तरीको कंचनपुरदेखि कुशहवासम्म ३९.४२ किमी (पूर्वी) खण्डमा २ वटा र सिरहाको बलानबाट कमलासम्म ४७.४१ किमी (पश्चिम) खण्डमा ६ वटा ओभरपास निर्माण भइरहेको छ ।

पूर्वीखण्डको रुपनी बजारमा २ वटा ओभरपास निर्माण भइरहेको कंचनपुर-कमला सडक योजना (पूर्वीखण्ड)का प्रमुख (सीडीई) निरज शाक्यले बताए । उनका अनुसार हाल दुवै ओभरपासको ब्रिज स्ट्रक्चरको काम सकिएको छ । अहिले र्याम्प निर्माणका लागि आरई वाल लगाउने काम भइरहेको उनले बताए ।

‘रुपनीमा दुई वटा ओभरपास निर्माण भइरहेको छ । दुवैको ब्रिज स्ट्रक्चरको काम सकिएको छ । अहिले र्याम्पका लागि आरई वाल लगाउने काम धमाधम भइरहेको छ । वाल लगाइसकेपछि माटो फिलिङको काम सुरू हुन्छ,’ उनले मेरोअटोसँग भने ।

बलान-कमला (पश्चिम खण्ड)मा ६ वटा ओभरपास निर्माण हुँदै छन् । कंचनपुर-कमला सडक योजना (पश्चिमखण्ड)का प्रमुख (सीडीई) उज्ज्वल श्रेष्ठ अनुसार लहानमा ४, गोलबजार, मिर्चैयामा १/१ वटा ओभरपास निर्माण भइरहेको छ ।

उनका अनुसार लहानको ४ मध्ये ३ ओभरपासको ब्रिज स्ट्रक्चर निर्माण भइसकेको छ भने एउटाको फाउण्डेसनको पाइलको काम भइरहेको उनले बताए । त्यस्तै, मिर्चैयाको फाउण्डेसन निर्माण सकी आरई वाल लगाउने काम भइरहेको छ ।

‘बलान-कमला खण्डमा ६ वटा ओभर पास निर्माण हुँदै छन् । लहानका ४ मध्ये ३ वटाको ब्रिज स्ट्रक्चरको काम सकियो । अर्को एउटाको फाउण्डेसनको पाइलको काम भइरहेको छ । मिर्चैयामा फाण्डेसनको काम सकी आरई वाल लगाउने काम भइरहेको छ,’ उनले मेरोअटोसँग भने ।

स्थानीयसँगको विवादले गोलबजारको भने काम सुरू हुन नसकेको उनले बताए । पहिला सडकको दुवैतर्फ एक एक वटा ओभरपास बनाउने डिजाइन गरिएको थियो । उक्त स्थानमा अहिले बीचको लेनमा एउटा मात्रै बनाउन स्थानीय र नगरपालिका आग्रह गरेकाले नयाँ डिजाइनको काम अन्तिम चरणमा पुगेको उनले बताए । यहीखण्डको बन्दीपुरमा एउटा एनिमल क्रसिङ पनि बन्दैछ ।


Back_to_top