इन्धन गाडी ईभीमा कन्भर्ट गर्ने बाटो खुल्यो, राजपत्रमा सूचना प्रकाशित

काठमाडौं । सरकारले इन्धन सवारी साधनलाई विद्युतीय सवारी साधन (ईभी)मा परिवर्तन (कन्भर्ट) गर्न पाउने बाटो खुलाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी साधनमा इन्धन प्रणाली फेरबदल गर्न पाउने व्यवस्था सहितको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्दै बाटो खुलाएको हो ।

‘नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७६ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा ३९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तीन वर्षसम्म लागू नहुने गरी इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा छुट दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,’  राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

यससँगै अब सवारी धनीले आफूसँग भएको इन्धन गाडीलाई ३ वर्ष भित्र ईभीमा कन्भर्ट गर्न सक्नेछन् । यद्यपि, कानुनी बाटो खुले पनि मापदण्ड बनिनसकेकाले तत्कालै कार्यान्वयनमा आउने छैन । अहिले यातायात व्यवस्था विभागले इन्धन गाडीलाई ईभीमा कन्भर्ट गर्न आवश्यक मापदण्ड बनाइरहेको छ ।

विभागका एक अधिकारीका अनुसार अहिले मापदण्डको मस्यौदा बनाउने काम भइरहेको छ । मस्यौदा तयार भएपछि आवश्यक राय सुझावसहित अन्तिम रुप दिइने छ । उक्त मापदण्ड स्वीकृत भएपछि मात्रै इन्धन गाडी ईभीमा कन्भर्ट गर्न सकिने उनको भनाइ छ ।

गत मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले इन्धन गाडीलाई ३ वर्षसम्म ईभीमा कन्भर्ट गर्न पाइने निर्णय गरेको थियो । हाल कार्यान्वयनमा रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारीधनीले अनुमति नलिई सवारीको कुुनै पनि रङ, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गर्न पाइँदैन । मन्त्रिपरिषद्ले उक्त बाधा अडाकाउ फुकाउँदै इन्जिन गाडीलाई ईभीमा कन्भर्ट गर्न सक्ने व्यवस्था गरेको हो ।

ऐनको दफा ३९ उपदफा १ अनुसार सवारीधनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट, संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गरी सवारीमा हेरफेर गर्न नहुने व्यवस्था छ ।

सोही ऐनको दफा १७७ मा उक्त ऐनको कार्यान्वयन गर्दा कुनै बाधा अडकाउ परेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी त्यस्ता बाधा अड्काउ हडाउन सक्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले ऐनको दफा १७७ प्रयोग गर्दै ३ वर्षसम्मका लागि बाधा अड्काउ फुकाएको हो । यद्यपि, ३ वर्षसम्ममा नयाँ ऐन नयाँ पुनः यो व्यवस्था खारेज हुनेछ ।


Back_to_top