नारायणगढ-बुटवल सडक : पूर्वीखण्डको सर्भिस लेनमा कालोपत्र हुँदै, चैतसम्म सक्ने लक्ष्य

काठमाडौं । नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत पूवीखण्ड (नारायणगढ-दाउन्ने)मा सर्भिस लेन कालोपत्र सुरू भएको छ ।

मुख्य सडकको कालोपत्र लगभग सकिएसँगै बजार क्षेत्रमा बनेका सर्भिस लेनमा कालोपत्र सुरू भएको हो ।

नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले चार ठाउँ बाहेक मुख्य सडकको कालोपत्र सकिएसँगै बजार क्षेत्रमा सर्भिस लेन कालोपत्रको काम भइरहेको बताए ।

उनका अनुसार गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबासमा कालोपत्रको काम बाँकी छ । अहिले बजार क्षेत्रमा सर्भिस लेनको कालोपत्र गर्ने कामसँगै  पूर्वी खण्डमा काम गर्न बाँकी रहेका सबै जसो क्षेत्रमा धमाधम काम भइरहेको छ ।

उनले अहिले सडक बीचको डिभाइडर सफा गर्ने, यस अघि तोकिएकोभन्दा पातलो कालोपत्र गरिएको स्थानमा थप कालोपत्र गर्ने कार्य जारी राखिएको बताए ।

लामो पुल मध्ये चोरमारा र अरुणखोला मात्र संचालनमा आउन बाँकी रहेकाले सो क्षेत्रमा समेत काम चलिरहेको सूचना अधिकारी खनालले बताए ।

पूर्व खण्डमा दाउन्ने क्षेत्रमा समेत प्राथमिकता दिएर काम अघि बढाइएको छ । दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरण रहेको उनले बताए । चैतसम्ममा काम सक्नेगरी कल्भर्ट निर्माणसहित सडक ढलानको काम चलिरहेको उनले बताए ।

‘दाउन्नेमा कामलाई गति दिएका छौँ, चैतसम्ममा आयोजनाको बाँकी चौध प्रतिशत कामसमेत सकिन्छ,’ सूचना अधिकारी खनालले भने ।

यसखण्डको चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले कामलाई गति दिइएको छ । हालसम्म यसखण्डको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । प्रगति ९० प्रतिशत पुग्दा लगभग निर्माणको काम सकिन्छ ।

उनका अनुसार पछिल्लो पटक थप भएको म्याद २०८३ असारमा सकिन्छ । हाल उपलब्ध गराएको समयसीमामा काम सम्पन्न गराउनका लागि आफूहरू लागेको सूचना अधिकारी खनालले बताए ।

नारायणगढ-बुटवल सडक विस्तार २०७५ साल माघ २४ गते सम्झौता भएर २०७९ साल साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरू गरेको थियो । नारायणगढ-बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक म्याद थप गरेर काम अघि बढिरहेको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको चौध किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।


Back_to_top