काठमाडौं । अहिले बजारमा सबैभन्दा बढी चर्चा पाइरहेको कम्प्याक्ट क्रसओभर एसयूभी दीपल एस-०५ को सिधा प्रतिस्पर्धी मोडल प्रोटोन इमास सेभेन हो । धेरैले प्रोटोन इमास सेभेनको चर्चा गरेको सुनिदैन ।
साइजको आधारमा यी दुई एसयूभी एक अर्काका कडा प्रतिस्पर्धी हुनु पर्ने हो । तर, आधिकारिक बिक्रेताको रणनीतिको कारण दीपल एस-०५ निकै चर्चित बन्यो । प्रोटोन इमास सेभेन सुस्ताउँदै गयो ।
नेपालका दुई पुराना व्यवसायिक घरानाले बिक्री गर्ने यी दुवै ब्राण्ड मध्ये एमएडब्लू ग्रुपले दीपल र जगदम्बा ग्रुपले प्रोटोन ब्राण्डका गाडी बिक्री गर्छन् । दीपल चिनियाँ ब्राण्ड चांगानको न्यू इनर्जी भेहिकल उत्पादन गर्ने ब्राण्ड हो । जबकि प्रोटोन मलेसियन ब्राण्ड हो । यसमा चिनियाँ अटो उत्पादक जिली ग्रुपको ४९.९ प्रतिशत सेयर रहेको छ ।
प्रोटोन इमास सेभेन जिलीले चीनमा उत्पादन गरेर नेपाल पठाएको हो । जीकर टेक्नोलोजी युरोपले विकास गरेको ‘ग्लोबल इन्टेलिजेन्ट न्यू इनर्जी आर्किटेक्चर’मा इमास सेभेन बनेको हो ।

दीपलले भने आफ्नो एस-०७ एसयूभीको सफलतापछि नेपाली बजारमा एस-०७ ल्याएको हो । डिजाइन, फिचर र टेक्नोलोजीको हिसावले यो क्रसओभर उत्कृष्ट छ । साथै, मूल्यका हिसाबले पनि निकै राम्रो छ ।
यस्तोमा यी दुई क्रसओभर एसयूभीको केही कुराको बारेमा हामीले यहाँ चर्चा गरेका छौं । जसले छनोट कर्तालाई निर्णय लिन सजिलो होस् ।
साइज
प्रोटोनको इमास सेभेनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । दीपल एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम, उचाइ १६०० एमएम छ । उचाइमा इमास सेभेन प्रस्ट अगाडि छ । लम्बाइ र चौडाइमा फरक छैन ।
ह्वीलबेसमा दीपल एस-०५ अगाडि देखिन्छ । यसमा २८८० एमएम लामो ह्वीलबेस रहँदा प्रोटोन इमास सेभेनमा २७५० एमएम लामो छ । त्यसैले ड्राइभिङ लग्जरीका हिसाबले एस-०५ धेरै राम्रो लाग्छ ।

ह्वील साइजमा इमास सेभेन अगाडि छ । यसमा १९ इन्चको र दीपल एस-०५ मा १८ इन्चको ह्वील छ । ग्राउन्ड क्लियरेन्स दुवैको लगभग उस्तैछ । बुट स्पेसमा एस-०५ मा ४९१ र इमास सेभेनमा ४६१ लिटर छ । दीपल एस-०५ मा फ्रन्ट फ्रङ्क १५९ लिटरको पाउन सकिन्छ ।
ब्याट्री र रेन्ज
ब्याट्रीको कुरा गर्दा इमास सेभेनको टप भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले देखाएको छ ।
दीपल एस-०५ मा ५६.१ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुलचार्ज गरेर ४०० किलोमिटर चलाउन सकिने डब्लूएलटीपीको परीक्षणमा देखिएको छ ।
मोटर पावर
यी दुई एसयूभीमा देखिएको सबैभन्दा ठूलो अन्तर नै मोटर पावर हो । इमास सेभेनमा १६० किलोवाट र एस-०५ मा ९९ किलोवाटको मोटर छ । यी दुई गाडीको मूल्यमा ठूलै अन्तर हुनुको मुख्य कारण मोटर पावर नै हो ।

नेपाल सरकारले मोटर पावरको आधारमा कर लगाउँछ । नत्र यी दुवैको मूल्य लगभग समान हुन्थ्यो । पीकटर्क भने दुवै क्रसओभर एसयूभीको समान ३२० न्युटन मिटर छ ।
क्याबिन फिचर
दुवै क्रसओभर एसयूभीमा आधुनिक फिचरले भरिपूर्ण क्याबिन पाउन सकिन्छ । दीपल एस-०५ को ड्यासबोर्डमा १५.४ इन्चको सिंगल सेन्टर स्क्रीन छ । चालकलाई सूचना अगुमेन्टेड रियालिटी हेडअप डिस्प्ले उपलब्ध हुन्छ ।
यसमा डी आकारको मल्टिफङ्सनल स्टेरिङ ह्वील, लेदरेट सिट, पावर्ड एण्ड हिटिङ ड्राइभर सिट, ५० वाटको वायरलेस चार्जर र बिल्ड इन डीभीआर दिइएको छ । युवामैत्री बनाउन १४ वटा स्पीकर सहितको प्रिमियम साउण्ड सिस्टम, अटोमेटिक एसी, ६४ कलरको एम्बीयन्ट लाइट, प्यानारोमिक सनरुफले दीपल एस-०५ लाई अब्बल बनाउँछ ,
प्रोटोन इमास सेभेन पनि फिचरको आधारमा बलियो मोडल हो । यसमा १५.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, विण्डसिल्ड हेडअप डिस्प्ले पनि छ ।

यसका अलावा लेदरेट सिट, मल्टिफङ्सनल एन्टी ब्याक्टेरियल स्टेरिङ ह्वील, भेन्टिलेटेड फ्रन्ट सिट, २५६ कलरको एम्बियन्ट लाइट यसको बलियो फिचर हो । साथै, वायरलेस फोन चार्जर, १६ स्पीकर सहितको फ्लाइमीको साउण्ड सिस्टम, अटोमेटिक एसी, भेहिकल टु लोड फिचर, प्यानारोमिक सनरुफले यसलाई दीपल एस-०५ सँग बलियो प्रतिस्पर्धी बनाएको छ ।
सेफ्टी फिचर
सुरक्षा फिचरको लामो लिस्ट दुवै एसयूभीमा पाउन सकिन्छ । एडास लेभल टु दुवै एसयूभीको बलियो पक्ष हो । सुरक्षाको लागि दुवै एसयूभीमा ६ एयरब्याग, अटो ब्रेक होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, एबीएस, ईबीडी, ब्रेक असिस्ट, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, फ्रन्ट तथा रियर पार्किङ सेन्सर उपलब्ध छ ।
प्रोटोनले इमास सेभेनमा ३६० डिग्री क्यामरा प्रयोग गर्दा दीपलले एस-०५ मा ५४० डिग्री क्यामेराको प्रयोग गरेको छ ।
मूल्य
प्रोटोन इमास सेभेनको टप भेरियन्ट किन्दा ६७ लाख ९९ लाख हजार रुपैयाँ तिर्नुपर्छ । कम्पनीले यसमा २ लाख ९९ हजारसम्म छुट उपलब्ध रहेको जनाएको छ । यस हिसाबले ६५ लाख रुपैयाँमा इमास सेभेन किन्न पाइन्छ ।

दीपल एस-०५ को टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ । कम्पनीले घोषित रूपमा कुनै डिस्काउन्ट अफर गरेको छैन ।
निष्कर्ष
मूल्य बाहेक यी दुई एसयूभी एउटै सेग्मेन्टका बलिया प्रतिस्पर्धी हुन् । तर, कम्पनीले अख्तियार गरेको रणनीति र ब्राण्ड उपस्थितिको हिसाबले दीपल बलियो देखिन्छ ।
मूल्यमा ठ्याक्कै ८ लाख रुपैयाँ धेरै इमास सेभेनलाई तिर्नुपर्छ । त्यस बापत ६१ किलोवाट बढी पावर, ७० एमएम बढी अग्लो, एक इन्च ठूलो ह्वील, भेन्टिलेटेड सिट र ३ किलोवाट आवर बढी ब्याट्री उपभोक्ताले पाउने छन् ।
यदि टेक फिचरका हिसाबले हेर्दा भने दीपल एस-०५ निकै एड्भान्स छ ।

