एक लाख ४० हजारसम्मले मूल्य घटेका बाइकको रिकन्डिसनमा मूल्य कति ?

काठमाडौं । २०० सीसी माथिका नयाँ मोटरसाइकलको मूल्य घटेसँगै सेकेन्ड ह्याण्ड बजारमा मूल्य उथल पुथल भएको छ । चालु आर्थिक वर्षको बजेटले ठूला इन्जिन भएका मोटरसाइकलमा अन्तःशुल्क र सडक निर्माण कर घटाएसँगै नयाँ मोटरसाइकलको मूल्य घटेको थियो ।

जेठ अन्तिमसम्म नै बजाज, केटीएम, बेनेली, क्रसफायर, क्रसएक्स र रोयल इनफिल्ड जस्ता कम्पनीहरुले आफ्ना ठूला उत्पादनको मूल्य घटाएका थिए । अधिकांश कम्पनीले ५० हजारदेखि ७० हजारसम्मले मूल्य घटाए । तर, रोयल इनफिल्डले नयाँ क्लासीक ३५० र स्क्रयाम ४११ मोडल सार्वजनिक गर्दै उत्कृष्ट मूल्य अफर गरेको थियो ।

बजारमा १५० सीसीका मोटरसाइकलको मूल्य नै ५ लाखभन्दा माथि पुगिसकेको अवस्थामा रोयल इनफिल्ड क्लासिक ३५० लाई अल्फा अटोमोटिभ्सले ५ लाख मूल्य तोकेर बिक्री सुरु गरेको थियो ।

नयाँ मोडरसाइकल बिक्री गर्ने बीचमा ठूलै चर्चा परिचर्चा भएको रोयल इनफिल्डको मूल्यले रिकन्डिसन बजारमा पनि भागदौड मच्चाएको थियो । ६ लाखभन्दा माथि मूल्य रहेको मोडलमा एकै पटक १ लाख ४० हजार मूल्य घट्दा रिकन्डिसन ब्यवसायीलाई राम्रैसँग हल्लाएको थियो ।

‘सुरुमा त सबै कम्पनीले मूल्य घटाउँदै छ भन्ने थाहा पाएर कम नाफामा नै मोटरसाइकल बेच्न खोजियो । बुलेटमा त सबैभन्दा धेरै घाटा होला भन्ने सोचेको तर, त्यस्तो भएन, सबै बुलेट राम्रै मूल्यमा बिक्री भयो’, मध्येबानेश्वरमा रहेको गणेश अटो रिकन्डिसन हाउसका संचालक सुमन अधिकारीले मेरोअटोसँग भने ।

तर, आफुहरुको अनुमानभन्दा फरक बजारमा देखिएको भन्दै अधिकारीले भने, ‘सबैभन्दा धेरै मूल्य घटेको बुलेटभन्दा सामान्य मूल्य घटेको केटीएम, क्रसफायर, डोमिनार जस्ता मोटरसाइकलमा धेरै घटा हुने अवस्था छ । अझै कति समय यसलाई पाल्नु पर्छ भन्ने एकिन छैन । बुलेट जस्तो सहजै यी मोटरसाइकल बिक्दैन ।’

अधिकारीको जस्तै अन्य ब्यवसायी पनि तुलनात्मक रुपमा बुलेट बिक्री गर्न सहज भएको बताउँछन् । चावहिलमा जेनिस अटो संचालन गर्दै आएका जीवन क्षेत्री भन्छन्, ‘अहिले किन्नेभन्दा बिक्री गर्ने धेरै छन् । मागभन्दा सप्लाई धेरै भएपछि मूल्य त घट्ने नै भयो ।’

पुरानो मोटरसाइकल किन्ने मानिसको संख्या नै अत्यन्त कम रहेको छ । बजारमा चलिरहेको २२ महिनादेखिको आर्थिक मन्दीको कारण मानिसको खर्च गर्ने क्षमतामा कमी आएको छ । साथै, धेरै युवाहरु रोजगारी र पठनपाठनको शिलसिलामा विदेश गइरहेको कारण नेपालमा मोटरसाइकलको बिक्रीमा नै उच्च गिरावट देखिएको छ ।

त्यसमा पनि संचालन खर्च उच्च रहेका बजाज डोमिनार, केटीएम, डुकाटी, रोयल इनफिल्ड, क्रसफायर, क्रसएक्स जस्ता ब्राण्डका मोटरसाइकलमा ठूलो रकम अहिले खर्च गरिरहेका छैनन् ।

यसअघि पनि क्रसफायर, केटीएम, बेनेली जस्ता मोटरसाइकल रिकन्डिसन बजारमा खासै मूल्य नआउने मोटरसाइकल हुन् । होन्डा, रोयल इनफिल्ड जस्ता ब्राण्डका मोटरसाइकलमा भने घटेको मूल्य र मन्दिको ठूलो असर गरेको छैन । साना मोटरसाइकल तथा स्कुटरहरु भने पहिलोको तुलनामा ५० प्रतिशतभन्दा धेरैले बिक्री कम भइरहेको विक्रेताहरु बताउँछन् ।


Back_to_top