बीपी राजमार्गमा ‘ट्रयाक’बाट गाडी चलाउने तयारी

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट पूर्वी तराई जाने सबैभन्दा छोटो दूरीको बीपी राजमार्गको पुनर्निर्मित ट्रयाकबाट यातायात संचालन गरिने भएको छ । हाल पुनर्निर्माणको क्रममा रहेको उक्त सडकमा असार १५ देखि ट्रयाकबाटै सवारी चलाउने तयारी थालिएको हो ।

२०८१ र २०८२ असोजमा आएको बाढीले बीपी राजमार्गको ३० किलोमिटर (काभ्रेपलाञ्चोक-सिन्धुली)खण्ड क्षतिग्रस्त बनाएपछि हाल रोशी खोला बगरमा अस्थायी डाइभर्सन बनाएर सवारी संचालन गरिँदै आइएको छ । तर, सामान्य वर्षा हुने बित्तिकै अवरुद्ध हुने भएकाले अब वर्षायाममा पनि निरन्तर सवारी आवगमन गराउन पुनर्निमाण भइरहेको ट्रयाकबाट संचालन गर्न लागिएको हो ।

बाढीले क्षतिग्रस्त उक्त सडकलाई हाल ४ प्याकेजमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ । उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम र केही स्थानमा भने ठूला ढुंगा राखेर सडक तयार गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका प्रमुख सुमन योगेशले वर्षायामलाई मध्यनजर गर्दै पुरानै सडकमा खोलिएको ट्रयायकबाट असार अर्को सातादेखि सवारीसाधन संचालन गर्नेगरी तयारी भइरहेको बताए ।

उनका अनुसार अहिल्यै चारसयबेँसी, बोक्सीकुना, कालढुङ्गा र डालाबेँसीमा ट्रयाकबाट गाडी संचालन गर्नसक्ने अवस्थामा छ । अन्य स्थानमा पनि धमाधम काम भइरहेकाले केही दिनमै ट्रयाकबाट सवारी चलाइने उनको भनाइ छ ।

‘अहिल्यै चार ठाउँमा ट्रयाकबाट सवारी चलाउन सक्ने गरी तयार भइसकेको छ । अन्य ठाउँमा पनि धमाधम काम भइरहेको अवस्था छ । डाइभर्सनमा समस्या आए अब गाडी रोकिने अवस्था देखिँदैन,’ उनले भने ।

उनले वर्षाअघि ७ मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राख्न थालिएको बताए । वर्षापछि खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने छ । कतिपय स्थानमा आरसिसी वालको फाउण्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हालेर सवारीसाधन संचालनमा ल्याइने योगेशले बताए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गरिरहेका बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्डमा भने माटो भरेर ठूला ढुङ्गा राख्ने काम भइरहेको छ । सम्भावित जोखिम तथा निर्माणकार्यलाई मध्यनजर गर्दै हाल पनि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म रातको समयमा आवागमनमा भने रोक लगाइएको छ ।

बीपी राजमार्गको भकुन्डेबेँसीदेखि खुर्कोटसम्मको क्षतिग्रस्त ३०.५ किमी सडकको ४ प्याकेजमा विभाजन गरिएको छ । काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ खण्डमा ठेक्का लगाई हाल पुननिर्माण भइरहेको हो । यो सडक नेपाल सरकारकै लगानीमा पुनर्निर्माण भइरहेको हो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड स्रोत सहमति दिएको छ ।

भकुन्डेबेँसी-चारसयबेँसी ११ किमीको ठेक्का ठेक्का लामा-नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५२ लाख ९३ हजार २८७ रुपैयाँमा (भ्याटसहित) पाएको छ । यो खण्डको काम २ वर्ष (२०८४ असार १७ गते) भित्र सम्पन्न गर्नुपर्नेछ ।

त्यस्तै, चारसयबेंसी-डालाबेँसीसम्म ८.५ किमीको ठेक्का खानी-कमलजित-एवान जेभीले १ अर्ब ४२ करोड ३७ लाख ४८ हजार ७५९ रुपैयाँमा पाएको छ । यो खण्ड २०८४ जेठ २८ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

काभ्रेतर्फकै पिप्ले (सुख्खापहिरो-डालाबेँसी २.३ किमीको ठेक्का उमा एन्ड कम्पनी-भण्डारी-अमरज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा पाएको छ । यसको काम २०८४ कात्तिक २६ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

सिन्धुलीतर्फको बर्खेखोला-नेपालथोक ५ किमीको ठेक्का खरिढुंगा/घिसिङ/क्षितिज जेभीले ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर खण्ड भने जापान सरकारले पुनर्निर्माण गर्दैछ ।

बीपी राजमार्ग संघीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो सडक हो । यस सडक हुँदै दैनिक ५ हजार बढी सवारी साधन आवतजावत गर्छन् ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।


Back_to_top