फास्ट ट्रयाकमा खोकना विवाद थाती राखेर विकल्पमा अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छिन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला मन्त्रालय र निकायका पदाधिकारीसँग छलफल गरी विकल्पमा अघि बढ्न निर्देशन दिएका हुन् ।

आज प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईँ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, प्रधान सेनापति अशोकराज सिग्देलसहित द्रुतमार्ग आयोजनासँग सम्बन्धित अधिकारीहरू, सम्बन्धित मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेकी थिइन् ।

यस क्रममा नेपाली सेनाका तर्फबाट आयोजनामा हालसम्म भएको प्रगति, समस्याहरू र सरकारसँग अपेक्षाका विषयमा ब्रिफिङ भएको थियो ।

सबै सम्बन्धित निकायका अधिकारीहरूलाई राखेर उनले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न र विवादमा अल्झिएर पनि नबस्न भनेकी हुन् ।

‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नुहुँदैन । सकेसम्म विवादको समाधान गर्ने हो । तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले अब फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत संशोधन गर्नुपर्ने बताएकी छिन् । ‘अब विस्तृत परियोजना प्रतिवेदन संशोधन गरौं । सुरू विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौं । आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौं ।’

ठूलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो ।

अब उनको निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले यसअघि गत माघ १३ गते निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । उनले त्यस क्रममा फास्ट ट्रयाकको प्रस्थानबिन्दु ललितपुरको खोकनाका स्थानीयसँग भेटघाट गर्दै मा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा पर्ने असर बारे चासो राखेकी थिइन् ।

त्यसपछि उनले विकास निर्माणका काम गर्दा स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएकी थिइन् । उनले फास्ट ट्रयाकको प्रस्थान विन्दु परिवर्तन गरेर भए पनि राष्ट्रिय गौरवको यो आयोजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताइएकी थिइन् ।


Back_to_top