५० प्रतिशत टायर चोरीको बाटोबाट, रोक्न यस्तो छ नाडाको सुझाव

काठमाडौं । नेपाल–भारतको खुल्ला सीमानाका कारण भन्सार विन्दूभन्दा बाहेकका बाटोबाट समेत सामान आयात हुने गरेको छ । यसरी आयात हुने सामानमा सवारीसाधनको स्पेयर पार्टस पनि पर्छ । स्पेयर पार्टसमा ठूलो हिस्सा ओगटेको टायर करिब ५० प्रतिशत अबैध बाटो हुँदै आउने गरेको छ । 

नेपालमा आयात हुने टायरहरु मध्ये ९० प्रतिशत भन्दा बढी भारतबाट आयात हुने गरेको छ । हाल नेपालको सीमाक्षेत्र तथा भारतीय सीमाक्षेत्रमा एउटा ट्रक टायरमा करिव ५५ सय रुपैयाँसम्म फरक रहेको छ  । यस्तो अवस्थामा नेपालको तराई क्षेत्रमा टायरटयूवहरु करिब ५० प्रतिशत अनधिकृत तवरबाट आयात समेत भईरहेको छ ।

यस्तो अवस्थामा नेपाल सरकारले ठूलो मात्रामा राजश्व गुमाउनु परेकाले टायर ट्युवमा लाग्दै आएको भन्सार महसुल घटाउन नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपालले सरकारसंग माग गरेको छ । नाडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा भन्सार महसुल घटाउन भनेको हो । 

नाडाले भनेको छ ‘टायरहरुमा हाल २० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा गैरबाटोबाट आउने अवस्था रोक्न १० प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था हुनु पर्नेछ ।’

चर्को भन्सार महसुलको कारण नेपालमा टायर ट्युवको मूल्य सीमावर्ती भारतीय बजारको तुलनामा ज्यादै महङ्गो भएकै कारण बस, ट्रक लगायत तराई क्षेत्रमा गुड्ने साना सवारी साधनहरुले समेत सीमावर्ती भारतीय बजारमा गई टायर ट्युव फेर्ने गरेको पाइएको नाडाको भनाई छ । यसरी सवारी साधनका लागि आवश्यक पर्ने टायरट्युवको अबैध कारोवार रोक्नमा सरकारले आवश्यक ध्यान दिन नसकेको नाडाको दाबी छ ।   

यसबाट भन्सार, मूल्यअभिवृद्धि कर तथा अन्य करहरुको ठूलो मात्रामा चुहावट भईरहेको स्पष्ट हुन्छ । यो सोक्नका लागि भन्सार महसुल घटाउनु नै उपयुक्त उपाय भएको नाडाको सुझावमा उल्लेख गरिएको छ ।  


Back_to_top