काठमाडौं । सन् २०२५ मा एउटै एसयूभी दुई फरक ब्राण्ड नेम र मोडल नेममा नेपालमा बिक्री सुरू भयो । चिनियाँ अटोमोबाइल्स ग्रुप जिली न्यू इनर्जी ब्राण्ड ‘ग्यालेक्सी’मा उत्पादन भएको एसयूभी नेपाल आएको हो ।
रोचक कुरा के छ भने एउटै डिजाइन, स्पेक र फिचर्स भएको हुबहु एसयूभी प्रोटोन ब्राण्डमा मार्च २०२५ मा सार्वजनिक भयो । सेप्टेम्बरमा त्यही एसयूभी जिली ब्राण्डमा आयो ।
प्रोटोन ब्राण्डमा ‘रि-ब्याचिङ’ भएको ग्यालेक्सी ईएक्स फाइभको नाम प्रोटोन इमास सेभेन बनेर नेपाल आएको हो । प्रोटोनले मलेसियामा पनि यसको नामी इमास सेभेन नै राखेर बिक्री गर्दै आएको छ ।
जिली ग्रुपको ४९ प्रतिशत स्वामित्व प्रोटोनमा रहेको छ । त्यसैले जिलीले प्रोटोनमा रि–ब्याचिङ गराएको हो । मलेसिया बाहिर केही ‘राइट ह्याण्ड मार्केट’मा प्रोटोन इमास सेभेन उपलब्ध छ ।

एलआरआर मोटर्सले भदौमा भएको नाडा अटो शो २०२५ मा जिली ब्राण्ड लन्च गरेको हो । कम्पनीले जिली ग्यालेक्सी ईएक्स फाइभको बिक्री थालेसँगै बजारमा राम्रै चर्चा पाइरहेको छ ।
तुलनात्मक रूपमा आक्रमक बजार रणनीति अपनाएको प्रोटोनले धेरै गाडी आयात गरेको छ । देशभर बिक्री र सर्भिस नेटवर्क विस्तारमा आफैँ पैसा खान्याइरहेको प्रोटोनले डिसेम्बर १५ तारिखसम्म २५२ युनिट आयात गरेको छ । बजेट अगाडि २०२ युनिट इमास सेभेन ल्याएको जगदम्बा मोटर्सले दशैं अगाडि अर्को ५० युनिट ल्याएको देखिन्छ ।
साउनमा पहिलो पटक आयात सुरू भएको जिली ग्यालेक्सी ई एक्स फाइभ भने ठूलो संख्यामा आयात भएको छैन । डिसेम्बर १५ तारिखसम्म एलआरआर मोटर्सले २६ युनिट ईएक्स फाइभ नेपाल ल्याएको देखिन्छ । तर, कम्पनीले हरेक महिना गाडी भन्सार छुटाएको छ ।
मूल्यमा प्रतिस्पर्धा
एउटै उत्पादन दुई फरक समूहले बिक्री थालेसँगै मूल्यमा प्रतिस्पर्धा हुने नै भयो । तर, झट्ट सुन्दा दुवैले एउटै मूल्य राखेका छन् ।

जगदम्बा मोटर्सले प्रोटोन इमास सेभेन दुई अप्सनमा नेपाल ल्याएको छ । सानो ४९ किलोवाट आवर क्षमताको ब्याट्री भएको मोडलको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेको थियो । अहिले ४६ लाख ९९ हजार रुपैयाँमै गाडी दिँदै आएको छ ।
लङ रेन्ज मोडलमा भने ६० किलोवाट आवरको ब्याट्री छ । उक्त मोडलको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । अहिले किन्नेलाई कम्पनीले ६० लाख ९९ हजार रुपैयाँमा दिँदै आएको छ ।
जिलीको ग्यालेक्सी ईएक्स फाइभ भने ६० किलोवाट आवरको ठूलो ब्याट्री अप्सनमा मात्रै उपलब्ध छ । यसमा भेरियन्ट भने दुई पाउन सकिन्छ ।
एलआरआर ग्रुपले ईएक्स फाइभ प्रो भेरियन्टको मूल्य ५७ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले यसमा पनि राम्रो छुट उपलब्ध गराउँदै आएको छ ।

