मलेशिया । नेपाली बजारमा प्रोटोनको विद्युतीय कारमा दोस्रो मोडेलको रूपमा इमास फाइभ चाँडै बिक्री सुरू हुने भएको छ ।
नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आगामी असार महिना भित्रै नयाँ ह्यचब्याक कार बिक्री थाल्ने तयारी गरेको हो ।

इमास फाइभ नेपालका लागि शिपिङ भइसकेको कम्पनी स्रोतले जानकारी दियो । ‘प्रोटोनको नयाँ ह्यचब्याक नेपालको लागि हिडिसक्यो । केहिदिनमै नेपाल आइपुग्छ । जुलाइ दोस्रो सातासम्म लन्च गर्छौं,’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
इमास फाइभ मलेसियामा गत अक्टोबरमा बिक्री सुरू भएको थियो । जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर इमास फाइभ बनाइएको हो ।
इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो व्हीलबेस छ ।

प्रोटोनले इमास फाइभ दुई मोटर अप्सनमा उपलब्ध गराएको छ । जसमा सानो ५८ किलोवाट र ठूलो ८५ किलोवाटको मोटर छ । नेपाली बजारमा दुवै मोटरमा आउने छ ।
यसमा ३०.१२ किलोवाट आवर र ४०.१६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २२५ किमी र ३२५ किमी रेन्ज दिन्छ ।

इमास फाइभ ह्याचब्याकलाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ । डिसी चार्जरको प्रयोगबाट २१ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

यसको इन्टेरियर निकै आकर्षक छ । यसमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, भेरियन्ट अनुसार १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर मध्ये छान्न सकिने एम्बियन्ट लाइट, किलेस इन्ट्री पाउन सकिन्छ ।

यसमा सुरक्षाको लागि ६ एयरब्याग, विभिन्न सुविधासहितको एडास फिचर, ३६० क्यामेरा लगायतका फिचरहरु उपलब्ध छन् ।


