काठमाडौं । मलेसियान अटो कम्पनी प्रोटोनको उत्पादन ‘सागा’ कार नेपालमा बिक्री सुरु हुने भएको छ । नेपालमा प्रोटोनका कार जगदम्बा मोटर्सले आगामी डिसेम्बर महिनाबाट बिक्री सुरु गर्न लागेको हो ।
यद्यपी, प्रोटोन नेपाली अटो बजारको लागि भने नौलो नाम होइन । नेपाली सडकमा प्रोटोनको ‘वाजा र वीरा’ मोडलका सेडान कारहरु अहिलेपनि गुडिरहेको भेट्न सकिन्छ ।
नेपालको उदयमा अटोमोवाइल कम्पनी जगदम्बा मोटर्सले प्रोटोनको पहिलो मोडलको रुपमा बी-सेग्मेन्टको सेडान कार सागाको बिक्री सुरु गर्न लागेको हो । कम्पनीको स्रोतका अनुसार यो कारको आधिकारीक बिक्री डिसेम्बर २०२० बाट सुरु हुने छ ।
कम्पनीले पहिलो मोडलको रुपमा ल्याउन लागेको प्रोटोन सागामा १३३२ सीसीको फोर सिलिण्डर, १६ भल्भ, डीओएचसी, भीभीटी पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ९५ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्ने छ । यस कारमा ५ स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।
सागाको लम्बाई ४ हजार ३३१ एमएम, चौडाई १ हजार ६८९ एमएम र उचाई १ हजार ४९१ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २ हजार ४६५ एमएमको दिइएको छ ।
सुरक्षाका लागि अगाडि दुबैतर्फ एयरव्याग रहने यस कारमा इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, ब्रेक असिस्ट, इलेक्ट्रोनीक स्टेबीलीटी कन्ट्रोल, ट्राक्सन कन्ट्रोल, हिलहोल्ड असिस्ट, फ्रन्ट तथा रियर पार्किङ सेन्सर रिभर्स क्यामरा तथा एन्टी थेप अलार्म जस्ता अत्याधुनिक फिचरहरु रहेको छ ।
सागाको ड्यासबोर्डमा ७ इन्चको टचस्कृन सहितको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । जसमा स्मार्टफोन तथा ब्लुटुथ कनेक्टीभीटीको सुविधा रहेको छ । टिल्ट एड्जस्ट गर्न मिल्ने स्टेरिङ रहेको कारको स्टेरिङमा अडियो तथा ह्याड्स फ्रि टेलिफोन सुईच दिइएको छ ।
मलेसियन बजारमा तीन भेरियन्टमा उपलब्ध रहेको यो कार नेपाली बजारमा भने स्टायडर्र्ड म्यानुअल र प्रिमियम अटोमेटिक भेरियन्टमा आउने अनुमान गरिएको छ । जसको अनुमानित मूल्य क्रमश ३६ लाख र ४० लाख रुपैयाँ रहने अनुमान गरिएको छ ।

