काठमाडौं । यातायात व्यवसायीले राइड सेयरिङको विरोध गर्दै आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि सर्वसाधरण मर्कामा परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण आज विहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् । जसकारण सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो ।
काठमाडौं उपत्यकाका सडकमा निजी सवारी साधन चले पनि सार्वजनिक यातायात भने ठप्पप्रायः छ । एकाध ठाउँमा मात्रै न्यून संख्यामा सार्वजनिक बस, माइक्रोबस, ट्याम्पु चलेको देखिन्छ ।
बिहानैदेखि सार्वजनिक यातायात नचल्दा सर्वसाधारणहरु हिँडेरै गन्तव्यसम्म गइरहेका छन् ।
गण्डकी प्रदेशले राइड सेयरिङलाई कानुनी मान्यता दिएपछि गण्डकीबाट सुरु भएको यातायात व्यवसायीको आन्दोल देशव्यापी रुपमा फैलिएको हो । गण्डकीमा विगत ४ दिनदेखि नै सार्वजनिक यातायात बन्द छ भने आजदेखि देशभर बन्दमा उत्रिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले संविधानको धारा, ५७ को उपधारा ६, उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत निजी सवारीलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै आन्दोलनमा जान बाध्य हुनुपरेको बताए ।
प्रदेश सरकार र संघ सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै बाध्य भएर सेवा बन्द गरिएकोएको उनको भनाइ छ ।
आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतले ऐक्यबद्धता जनाएका छन् ।


