पल्सर सिरिजमा नयाँ मोडल आउने

सांकेतिक तस्विर

काठमाडौं । बजाज पल्सर २५० आउने हल्ला सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेको छ । कम्पनीले हल्लाकै बीचमा डोमिनार २५० भारतमा लञ्च गरेको थियो भने नयाँ पल्सर मोडल ल्याउने विषय अझै गुपचुप रहेको छ ।

बजाज इन्डियाका एमडी राजीव बजाजले आफुहरु पल्सरको नयाँ मोडल ल्याउने तयारीमा जुटेको बताएका छन् । यद्यपी उनले कुन सेग्मेन्टमा नयाँ पल्सर आउन लागेको हो भन्ने खुलाएका छैनन् ।

यसैलाई आधार मानेर मिडियाहरुले पल्सरको २५० सीसी सेग्मेन्टमा प्रबेश हुन लागेको उल्लेख गरेका छन् ।

अहिले यामाहा एफजेड २५, सुजुकी जिक्सर २५०, केटीएम ड्यूक २५० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्न कम्पनीले नयाँ मोटरसाइकल ल्याउन लागेको अनुमान गरिएको छ ।

पल्सर २५० मा पनि डोमिनार २५० मा प्रयोग गरेको इन्जिन नै दिइने अनुमान गर्न सकिन्छ । उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५८ हर्स पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ ।

अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सनको साथ आउन सक्ने पल्सर २५० मा डबल च्यानल एबीएस, अगाडि र पछाडिनै डिस्क ब्रेक, फुल डिजिटल डिस्प्ले, सबै लाइट एलइडी जस्ता फिचर उपलब्ध रहने अनुमान गरिएको छ ।

संम्भवत कम्पनीले यसलाई आगामी वर्षको दोस्रो हाफसम्ममा बजारमा ल्याउने छ ।


Back_to_top