रेनोले ल्यायो ‘डासिया’ इलेक्ट्रीक कार

काठमाडौं । रेनोले यूरोपियन बजारबाट कम मूल्यको इलेक्ट्री कार डासिया सार्वजनिक गरेको छ । हंगेरीबाट बिक्री सुरु भएको रेनो डासिया अहिले यूरोपमा निकै चर्चा पाउन सफल भएको छ ।

रेनो क्वीड जस्तै देखिने डासियामा दिइएका फिचर र मूल्यको कारण यसको चर्चा बढेको अटोएक्सप्रेस यूकेले उल्लेख गरेको छ । विशेषत सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार गरिएको माइक्रो एसयूभी डासियामा दिइएकाे चंकी ह्वील आर्क, रुफरेल, राम्रो ग्राउन्ड क्लियरेन्सले धेरैलाई लोभ्याएको छ ।

अगाडिको ग्रिलमा दिइएको चार्जिङ प्वइन्ट, ट्वीन हेडल्याम्प, स्लीम एलइडी डेटाइम रनिङ लाइट, विभिन्न स्थानमा प्रयोग गरिएको फरक कलरले गाडीलाई निकै आकर्षक देखाएको छ ।

डासियाको लम्बाई ३७७३ एमएम र चौडाई १६२२ एमएम रहेको छ । ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स क्यामेरा, एसी, हिटर, इलेक्ट्रीक डोर मिरर, फुल साइजको स्पेयर ह्वील, इलेक्ट्रीक विन्डो, सेन्ट्रल लक, ३.५ इन्चको डिजिटल डिस्प्ले जस्ता फिचर यसमा पाउन सकिन्छ ।

रेनोले डासियामा २६.८ किलोवाट आवरको व्याट्री दिएको छ । उक्त व्याट्रीले एक पटकको फुल चार्जमा हाइवेमा २२४ किलोमिटर र सहरी क्षेत्रमा २९२ किलोमिटर रेञ्ज प्रदान गर्ने डब्ल्यूएलटीपीले प्रमाणित गरेको छ ।

यसलाई १२५ किलोमिटर प्रतिघन्टाको गतिसम्मा चलाउन सकिन्छ । यसमा रहेको व्याट्रीलाई घरायसी विद्युतको प्रयोगबाट २.३ किलोवाट क्षमताको चार्जरले चार्जगर्दा करिब १२ घन्टामा फुल चार्ज हुन्छ भने ७.४ किलोवाट क्षमताको चार्जरको प्रयोगबाट ५ घन्टामा चार्ज गर्न सकिन्छ ।

यसको पावर क्षमता भने निकै कम रहेको छ । यसमा रहेको मोटरले ४३ बीएच पावर र १२५ एनएम टर्क प्रदान गर्ने छ । यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य १५ हजार डलरदेखि २१ हजार डलरसम्म रहेको छ ।


Back_to_top