मोटरसाइकल र स्कुटरको लाइसेन्स लिन चाहनेले ६ विषयको ज्ञान राख्नु पर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले लिखित परिक्षा दिने विद्यार्थीको लागि सहज बनाउन भन्दै ५०० प्रश्नको संग्रह सार्वजनिक गरेको छ । यस संग्रहमा विभिन्न ६ विषय समेटेर प्रश्नहरु तयार गरिएका छन् ।

विशेषत मोटरसाइकल, स्कुटर र मोपेड चालकले लिखित परिक्षा दिँदा यही ५०० प्रश्न मध्येबाट प्रश्नपत्र तयार पारिने विभागले जनाएको छ ।
प्रश्नपत्रमा सवारी संचालन सम्बन्धी ज्ञान, सवारी ऐन नियम सम्बन्धी ज्ञान, सवारी साधनको प्राविधिक तथा यन्त्रीक ज्ञान, वातावरण प्रदुषण सम्बन्धी अवधारणात्मक ज्ञान, दुर्घटना सचेतना सम्बन्धी ज्ञान र ट्राफिक संकेत सम्बन्धी ज्ञान हुनु पर्ने उल्लेख छ ।

सबैभन्दा धेरै अंकभार सवारी संचालन सम्बन्धी ज्ञानलाई दिइएको छ । यसमा जम्मा १३० प्रश्न दिइएको छ । यी १३० मध्ये ५ प्रश्न परिक्षामा सोधिने छ । हरेक प्रश्नको ५ नम्बर रहेको छ । यसरी सवारी संचालन सम्बन्धी ज्ञानबाट कुल २५ नम्बर बराबरको प्रश्न सोधिने छ ।

त्यसैगरि दोस्रो धेरै प्रश्न ट्राफिक संकेत सम्बन्धी ज्ञानमा रहेको छ । यसमा विभिन्न ११० प्रश्न समेटिएको छ । यसबाट पनि परिक्षामा ५ प्रश्न सोधिने छ । यसको पनि कुल अंकभार २५ रहेको छ ।

सवारी कानुनसँग सम्बन्धीत ९० प्रश्न रहेका छन् । यसबाट ४ प्रश्न सोधिने छ भने यसको अंक भार २० रहेको छ । सवारी साधनको प्रविधिक ज्ञानसँग सम्बन्धीत ८० प्रश्न समाबेस गरिएको छ । यसबाट ३ प्रश्न सोधिने छ भने अंक भार १५ रहेको छ ।

विभागले निकालेको प्रश्न संग्रहमा दुर्घटना सचेतना सम्बन्धी ६० प्रश्न समावेस गरेको छ । यी ६० प्रश्न मध्य २ प्रश्न परिक्षामा सोधिने छ । यसको कुल अंकभार १० रहेको छ ।

वातावरण प्रदुषण सम्बन्धी अवधारणात्मक ३० प्रश्न समेटिएको छ । यी ३० मध्ये एउटा मात्रै प्रश्न परिक्षामा आउने छ । यसको अंक भार ५ रहेको छ ।

यसरी समग्रमा २० प्रश्न सोधिने छ । प्रत्येक प्रश्नको सहि उत्तरमा परिक्षार्थीले ५ अंक प्राप्त गर्ने छन् । परिक्षा पास गर्न कम्तीमा १६ प्रश्नको सहि उत्तर दिनु पर्ने हुन्छ ।

पुरै प्रश्न संग्रह हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top