काठमाडौं । मंगलबार (माघ २७ गते) रामेछापको मन्थली-६ स्थित त्रिबेणी पुल नजिकै भएको यात्रुबस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।
स्थानीय प्रशासन, अरनिको यातायात प्रालि र मृतकका परिवार बीच भएको वार्तामा कानुन अनुसार क्षतिपूर्ति दिने सहमति भएको हो । यससँगै अवरुद्ध मन्थली-खुकोर्ट सडक संचालनमा आएको छ ।
सहमति अनुसार बस दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई तत्काल नेपाल अरनिको यातायात सेवा प्रालिले कानुन अनुसार पाउने क्षतिपूर्ति दिने, थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष र अरनिको यातायात बीच वार्ता गरिने, बेत्तपा भएका यात्रुका परिवारलाई पनि मृतक सरह मानेर क्षतिपूर्ति दिइने छ ।
त्यस्तै, अस्पतालमा रहेका मृतकहरूको शव परीक्षण गरी दाहासंस्कारका लागि सहजीकरण गर्ने, सवारी दुर्घटनाका सवारी चालकलाई प्रचलित कानून बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउने, सवारी दुर्घटनामा हराइरहेका आशंका गरिएका यात्रुहरूको खोजी कार्य जारी राख्ने सहमति भएको छ ।
त्यसैगरी, सवारी दुर्घटना सवारी चालकको लापरबाही कारणले भएको भनी पीडित पक्षले दाबी गरे बमोजिमको थप सुविधा उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने, पीडित पक्षबाट प्राप्त माग पत्ररनिवेदन कार्यान्वयन र सहजीकरणका लागि सम्बन्धित यातायात सेवा प्रालि, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने र पीडित पक्षहरूबाट हाल गरिएका विरोधका कार्यक्रमहरू स्थगित गर्ने उल्लेख छ ।
मंगलबार बिहान काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ००१-०५ख ९९७५ नं. को बस तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो । त्यस्तै, ८ जना घाइते भएका थिए भने ३ जना अझै बेपत्ता छन् ।


