काठमाडौं । हिरोले नयाँ इलेक्ट्रीक मोटरसाइकलको लागि भारतमा पेटेन्ट फाइल दर्ता गरेको छ ।
भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरोले आफ्नो इलेक्ट्रीक ब्राण्ड भिडा अन्तर्गतको नयाँ युबेक्स इलेक्ट्रीक मोटरसाइकल निर्माणको लागि पेटेन्ट दर्ता गरेको हो।
कम्पनीले बजारमा ल्याउन लागेको यो दोस्रो इलेक्ट्रीक मोटरसाइकल हो । कम्पनीले यसअघि भिडा भीएक्सजेड इलेक्ट्रीक मोटरसाइकल ल्याउने घोषणा गरेको थियो । हाल यो मोटरसाइकल उत्पादन प्रक्रियामा रहेको छ ।
कम्पनीले युबेक्स इलेक्ट्रीक मोडलको कन्सेप्ट डिजाइन पहिलोपटक इक्मा अटोशो २०२५ मा देखाएको हो । उत्पादनका लागि तयार अवस्थामा देखिएको भिडा युबेक्स मोटरसाइकल नेकेड स्ट्रीट फाइटर हाइपरमोटो डिजाइनमा छ । यो मोडल सबै रोडमा चलाउनका लागि उपयुक्त हुने देखिन्छ ।
आकर्षक स्ट्रीटफाइटर लुक, आक्रामक डिजाइन, पूरा एलईडी लाइट सेटअप, र टेलिस्कोपिक सस्पेन्सन सेटअपमा रहेको भिडा युबेक्समा टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, कनेक्ट सिस्टम, डबल डिस्क ब्रेक, एबीएस, मिड-माउन्टेड इलेक्ट्रीक मोटर लगायत फिचरहरू हुने छ।
कम्पनीले भने यसको बारेमा आधिकारिक जानकारी अहिलेसम्म बाहिर ल्याएको छैन । हिरोको यो इलेक्ट्रीक मोटरसाइकल २०२६ को अन्तिमसम्म बजारमा आउन सक्ने अनुमान छ ।


