काठमाडौं । जीमीनी इन्कर्पोरेट प्रालिको सोलार प्यानल जडान भएको रेसेन्स मिनी ईभी आगामी साता नेपाल आइपुग्ने भएको छ । नेपाली बजारमा उपलब्ध भेरै एसयूभीको तुलनामा उच्च ग्राउन्ड क्लियरेन्स भएको मिनी ईभी नेपाल आउन लागेको हो ।
कम्पनीको दावी अनुसार यसमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको छतमा शोलार प्यानल जोडिएको छ । उक्त प्यानलको सहायताले मिनी कारको रेन्ज ३० प्रतिशतले बढ्ने कम्पनी जानकारी दिएको छ ।
सहरी क्षेत्रको लागि उपयुक्त भनेर बनाइएको मिनी कार भएको कारण यसमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा मोटर भने निकै सानो १५ किलोवाट क्षमताको मात्रै छ । सानो मोटर र छतमा सोलार प्यानल रहेका कारण यसले अधिकतम ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
रेसेन्स मिनी ईभीको अगाडिको भाग डे टाइम रनिङ लाइट, स्टेरिङ ल्याम्प, कम्बीनेशन हेडलाइट, आकर्षक टेल लाइट, फग लाइट, रिभर्स लाइट जस्ता फिचर छन् ।
यसको अगाडि हेड रेष्टसहितको सिट, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एड्जस्टेवल फ्रन्ट सिट, डिफगर, कप होल्डर दिइएको छ । यसलाई सामान्य घरायसी बिजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यो कारको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।
जीमीनी इन्कर्पोरेट प्रालिले यस ईभीको सुरुवाति मूल्य २४ लाख रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो । यो ईभी खरिद गर्न चाहनेले १ लाख रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

