काठमाडौं । मारुती सुजुकीले अर्को हप्ता भारतीय बजारमा सार्वजनिक गर्ने भएको माइक्रो एसयूभी एस–प्रेसोनेपाली बजारमा दशैंपछि सार्वजनिक हुने सिजी मोटोकर्पले जानकारी दिएको छ ।
गत नाडा अटो शो २०१९बाट नेपाली बजारमा बुकिङ्ग खुलाइएको यो कार विभिन्न चार भेरियन्टमा सार्वजनिक हुने भएको छ । तर, नेपाली बजारमा कुन कुन भेरियन्ट आउने छ भन्ने विषयमा केही खुलाईएको छैन ।
माइक्रो एसयूभीको थिममा निर्माण भएको एस–प्रेसोमा भिटारा बे्रजामा समेटिएको केही फिचर रहने अनुमान गरिएको छ । यद्यपी यसको सिधा प्रतिस्पर्धा रेनो क्वीडसँग हुने अनुमान गर्न सकिन्छ । क्वीड नेपाली बजारमा समेत बिक्री भइरहेको मोडल हो ।
रेनोले क्वीडको फेसलिफ्ट मोडल सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समान अवधारणामा निर्माण भएका यी दुई ह्याचब्याक मोडलको मूल्य, पावर, बनावट, डायमेन्सन जस्ता विषयमा समानता पाउन सकिन्छ ।
डायमेन्सन
एस–प्रेशोको लम्बाई ३५६५ एमएम, चौडाई १५२० एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २३८० एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ । कम्पनीले यसको टप भेरियन्टमा १४ इन्चको अलोय ह्वील दिएको अनुमान गरिएको छ ।
क्वीडको लम्बाई ३६७९ एमएम, चौडाई १५७९ एमएम, उचाई १४७८ एमएम रहेको छ । यसमा २४२२ एमएमको ह्वीलवेश दिइएको छ भने २८ लिटर क्षमताको फ्युल ट्यांकी लगाइएको छ । दुबै कारमा समान १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
इन्जिन
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेशोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ६८ बीएच पावर र ९० एनएम टर्क उत्पादन गर्छ । रेनो क्वीडमा उपलब्ध थ्रि सिलिन्डर १.० लिटर इन्जिनले ६८ हर्ष पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । दुबै कारको इन्जिनमा पाँच स्पीड म्यानुयल र एएमटी गियरबक्स लगाइएको छ ।
विशेषता
एस–प्रेशोमा एयर कन्डिसनसँगै पावर स्टेयरिंग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडी कलर बम्पर जस्ता विशेषता दिइएको छ । एस–प्रेशोमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रिन इन्पmोटेनमेन्ट सिस्टम, स्टेयरिंग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभिएमएस लगायतका विशेषता दिइएको छ ।
दुबै कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयरब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषता प्रदान गरिएको छ । क्वीडमा आकर्षक इन्फोटेनमेन्ट सिस्टम, स्पीडोमिटर, ओडोमिटर लगायतका विशेषता दिइएको छ ।
माइलेज
एस–प्रेशोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज प्रदान गर्छ भने, क्वीडले प्रतिलिटर २३.०४ किलोमिटर माइलेज दिन्छ ।
मूल्य
नेपाली बजारमा एस–प्रेशोको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने रेनो क्वीडको सुरुवाति मूल्य २२ लाख २४ हजार रुपैयाँ रहेको छ ।

