खुल्न थाले रिकन्डिसन हाउस, ४० हजारदेखि नै राम्रो कन्डिसनका मोटरसाइकल

काठमाडौं । लामो समयसम्म चलेको निषेधाज्ञा पश्चात् आंशिक रुपमा बजार खुल्न थालेको छ । मोटरसाइकल तथा गाडी कम्पनीका शोरुमहरु हप्तामा ३ दिन खुल्न थालेसँगै रिकन्डिसन हाउसहरुसमेत खुलेका हुन् ।

करिब दुई महिना भएको निषेधाज्ञापछि बजार केही खुलपनि सार्वजनिक सवारी साधन संचालन हुने मिति भने अझै टुङ्गो लागेको छैन । सार्वजनिक यातायात संचालन नभएसँगै दैनिक काममा जाने मानिसहरु थोरै रकममा आफ्नै मोटरसाइकल वा स्कुटर खरिद गर्न रिकन्डिसन हाउस जाने अनुमान गरिएको छ ।

‘अहिले पसल खोलेर सरसफाई गर्ने काम गरिरहेको छौं, मोटरसाइकल किन्ने ग्राहकहरु धेरै छन् तर, तत्काल नामसारी गर्न सक्ने अबस्था छैन, यातायात कार्यालयले कर मात्र लिने र नामसारी नगर्ने भनेको छ । यस्तोमा तत्काल मोटरसाइकल विक्री नसके पनि यातायात कार्यालय पूर्णरुपमा खुले पश्चात् हाम्रो व्यापार बढ्छ’, मध्यबानेश्वर स्थित एसएनबी इन्टरप्राइजेजका संचालक राजु शाक्यले भने ।

पहिला पनि लकडाउन पश्चात् सेकेन्ड ह्यान्ड मोटरसाइकलको बजार बढेको थियो यो पटक पनि बढ्ने अनुमान रहेको उनले बताए । भौतिक दुरि कायम गर्नका लागि मोटरसाइकल नै उत्तम विकल्प रहेकाले पुराना मोटरसाइकलको विक्री बढ्ने विभिन्न अध्यनले देखाएको छ ।

शाक्यका अनुसार उनको रिकन्डिसन हाउसमा ४० हजार रुपैयाँको स्कुटरदेखि ४ लाख रुपैयाँसम्मको सेकेन्डह्यान्ड मोटरसाइकल विक्रीको लागि राखिएको छ ।

यस्तै मध्यबानेश्वरमा नै रहेको गणेश इन्टरप्राइजेजका संचालक गणेश अधिकारीको पनि यस्तै बुझाई रहेको छ ।

‘अहिले हामिले पसल खोल्ने वित्तिकै ग्राहक आउन थालेका छन् । हामीसँग धेरै स्टक छैन । शोरुमको व्यापार बढ्न थालेपछि हामीसँग स्टक आउँछ । शोरुमको व्यापार पहिला जस्तै यो पटक पनि बढ्यो भने हाम्रो व्यापार त्यतिकै बढ्छ’, अधिकारीले मेरोअटोसँग भने ।

गणेश इन्टरप्राइजेजमा ५५ हजारदेखि ४ लाख ५० हजार रुपैयाँसम्मका मोटरसाइक तथा स्कुटर उपलब्ध रहेको उनले जानकारी दिए । मध्य बानेश्वर, कलंकी, चाबहिल लगायतका क्षेत्रमा खुलेका अधिकांश रिकन्डिसन हाउसहरुले लकडाउन खुलेपछि मात्रै ग्राहकलाई सेवा प्रदान गर्ने जनाएका छन् ।


Back_to_top