सेग्मेन्टमै उत्कृष्ट फिचरसहित आयो जापानी कम्पनीको सबैभन्दा सस्तो कार

काठमाडौं । जापानी मोटर उत्पादक कम्पनी निसान ग्रुपको सस्ता कार उत्पादन गर्ने ब्राण्ड डाट्शनले आफ्नो इन्ट्री लेवल ह्याचव्याक कार रेडी गोको फेसलिफ्ट मोडल भारतीय बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले नयाँ रेडी गो पहिलेको तुलना थप स्पोर्टी र नयाँ फिचर थप गरेर बजारमा ल्याएको छ ।

निकै सानो साइजमा आउने यो कार नेपालमा पनि निकै राम्रो बिक्री हुने कार हो । नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको यस कारमा दुई इन्जिन अप्सन दिइएको छ । जसमा ०.८ लिटर र १.० लिटर क्षमताका दुई पेट्रोल इन्जिन रहेका छन् । फेसलिफ्ट मोडलपनि लकडाउन सकिएको केही समयपछि नेपाली बजारमा आउने छ ।

कम्पनीले यसमा थुप्रै फिचरहरु सेग्मेन्टमा पहिलो हुनेगरि ल्याइएको जनाइएको छ । यसको बाहिरी भागमा एल सेपमा डिआरएलएस दिइएको छ । स्किड हेडल्याम्पलाई सिल्भर कलरले सजाइएको छ । एलइडी फगल्याम्प, १४ इन्चको अलोय ह्वील, डुअल टोन कलर अप्सन, एलइडी सिग्नेचर टेलल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।

कम्पनीको दाबीलाई मान्ने हो भने पहिलेको तुलनामा नयाँ रेडी गो निकै फिचर थप भएर आएको उत्कृष्ट कार हो । यसले कम खर्चमा गाडी चढ्न चाहने युवा वर्गलाई आकर्षित गर्ने कम्पनीको भनाई रहेको छ ।

रेडी गो फेसलिफ्ट सेग्मेन्टमा सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको गाडी हो । यसमा १८७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । इन्टेरियरलाई पनि उत्कृष्ट बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यो पनि आफ्नो सेग्मेन्टमा नै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

कम्पनीले यसमा क्र्यास रेसिस्टेड बडी स्चक्चर दिएको जनाएको छ । भारतमा फेसलिफ्ट मोडलको मूल्यमा खासै परिवर्तन नभएकाले यो गाडी नेपाली बजारमा आउँदा पनि अहिले बिक्री भइरहेको मूल्यमा नै आउने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा रेडी गो ०.८ लिटरको मूल्य १९ लाख ९९ हजार र १.० लिटर इन्जिनसहितको गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top