काठमाडौं । डाट्सन रेडी गो फेसलिफ्ट आजबाट नेपालमा बिक्री सुरु हुने भएको छ । रेडी गो फेसलिफ्ट मोडल १.० लिटर इन्जिनमा नेपाल आएको हो ।
नेपालको लागि आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले चाडपर्वको अवसर पारेर बिक्री सुरु गर्न लागेको हो ।
कम्पनीले नयाँ रेडी गोको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । साथै, कम्पनीले यसमा विशेष छुटको अफर समेत ल्याएको छ ।
‘सुरुवाती ५० ग्राहकलाई ७५ हजार नगद छुट दिने छौं । यसमा नियमित छुट ७५ हजार रुपैयाँ रहेकोमा सुरुवाती ५० ग्राहकलाई थप ५० हजार छुट दिने निर्णय गरेका हौं’, कम्पनीका डिजीएम ज्ञानेन्द्र चन्दले भने ।
दुबै स्कीम जोड्दा ग्राहकले नगद १२५ हजार छुट प्राप्त गर्ने छन् भने कम्पनीले २५ हजार मूल्यको एक थान मोवाइल फोन, २५ हजार बराबरको बीमा र एक आर्थिक वर्षको सवारी कर तिरिदिने छ ।
कम्पनीले डाट्सन रेडी गोमा ३ वर्षको वारेन्टी र ३ वर्षकै निःशुल्क सर्भिस अफर पनि गरेको छ ।
नयाँ रेडी गो पहिलेको तुलना स्पोर्टी र नयाँ फिचर थप भएर आएको छ । यसको ग्रिलसँगै एल सेपमा डिआरएलएस दिइएको छ । स्किड हेडल्याम्पलाई सिल्भर कलरले सजाइएको छ । एलइडी फगल्याम्प, १४ इन्चको अलोय ह्वील, डुअल टोन कलर अप्सन, एलइडी सिग्नेचर टेलल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।
रेडी गो फेसलिफ्ट सेग्मेन्टमा सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको गाडी हो । यसमा १८७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । इन्टेरियरलाई पनि उत्कृष्ट बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।
कम्पनीले यसमा क्र्यास रेसिस्टेड बडी स्चक्चर दिएको जनाएको छ ।

