काठमाडौं । रेनोले भारतमा उत्पादन गरेको किगर सब फोर मिटर एसयूभीको आजबाट बुकिङ सुरु गरेको छ । कम्पनीले आज एक कार्यक्रमका बीच यसको विभिन्न भेरियन्टको मूल्य सार्वजनिक गरेको हो ।
रेनोले भारतीय बजारमा यसको सुरुवाती मूल्य ५ लाख ४५ हजार राखेका छ भने माथिल्लो भेरियन्टको मूल्य ९ लाख ५५ हजार सम्म रहेको छ । आज सार्वजनिक गरिएको किगर आरएक्सइ, आरएक्सएल, आरएक्सटी र आरएक्सजेडहरू विभिन्न १२ भेरियन्टमा उपलब्ध हुनेछन् ।
विभिन्न ६ फरक कलर उपलब्ध हुने किगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ । यसको नेचुरल एस्पायर्ड १.० लिटरको ७२ एचपी पावर र ९६ टर्क तथा १.० लिटर टर्बो इन्जिनले १०० एचपीको पावर र १६० एमएम टर्क प्रदान गर्छ । रेनोले यसलाई ५ स्पीड म्यानुअल, एएमटी र सीभीटी गियरबक्स अप्सनमा ल्याएको छ ।

विशेषतः युवा पुस्तालाई ध्यानमा राखेर सार्वजनिक भएको किगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर नयाँ एसयूभीमा पाउन सकिन्छ ।
छतमा दिइएको स्पोइलर र सार्क फिन एन्टेना किगरलाई स्पोर्टी देखाउन निकै सहयोगी भएको देखिन्छ । कम्पनीले यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । जसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ । ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका धेरै फिचर किगरमा पाउन सकिन्छ ।
बजारमा सब फोर मिटर सेग्मेन्टमा उपलब्ध हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, एक्सयूभी ३०० र निसान म्याग्नाइटसँग यसको सीधा प्रतिस्पर्धा हुने छ ।


