काठमाडौं । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइल प्रालिले नयाँ वर्ष २०७८ लाई मध्यनजर गर्दै ‘रेनो नयाँ वर्ष २०७८ स्पेशल योजना’ स्कीम संचालनमा ल्याएको छ । कम्पनीले आफ्ना सबै मोडलमा यो योजना लागु हुने जानकारी दिएको छ ।
रेनोले अहिले नेपाली बजारमा क्वीड, ट्राइबर, डस्टर, क्याप्चर जस्ता मोडल विक्री वितरण गर्दै आएको छ । कम्पनीको अहिले सर्वाधिक विक्री हुने मोडल क्वीड हो । क्वीडको फेसलिफ्ट मोडल अहिले नेपाली बजारमा विक्री हुँदै आएको छ । ७ सिट क्षमताको ट्राइबर र कम्प्याक्ट एसयूभी डस्टर रेनोको धेरै विक्री हुने मोडलमा पर्छन् ।
‘सदा खुसी रहौँ, खुसी रेनोको साथ बाडौँ’ भन्ने ट्यागलाइनको साथ आएको यस योजनामा गाडी किन्ने ग्राहकले अधिकतम नगद छुट पाउने उल्लेख छ । तर, कुन मोडलमा कति छुट पाइन्छ भन्ने कुराको जानकारी भने दिइएको छैन । हामीलाई प्राप्त जानकारी अनुसार कम्तीमा ७५ हजार नगद छुट ग्राहकले पाउने छन् ।
सजिलो वित्तीय सुविधा, निःशुल्क विभिन्न एशोसरीज, एक वर्षको वार्षिक कर, दुई वर्षसम्म निःशुल्क सर्भिसिङ्ग सुविधा पनि ग्राहकले पाउने जनाइएको छ । कम्पनीले विक्री गर्दै आएको रेनो क्वीड सबैभन्दा कम मूल्यको ह्याचव्याक कार हो । यसको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने सबैभन्दा महंगो मोडल क्याप्चर एसयूभी हो । यसको सुरुवाती भेरियन्टको मूल्य ५० लाख ९० हजार रुपैयाँ रहेको छ ।


