नेपालमा रेनोको दुई वर्ष, यस्तो छ कम्पनीको सर्भिस र भाबी योजना

काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक वितरक एड्भान्स अटोमोबाइल प्राइभेट लिमिटेडले दुई वर्षको समय अवधिमा २ हजार ५ सय कार बिक्री गरिसकेको छ । देशभर सञ्चालनमा रहेका ११ ओटा डिलर नेटवर्कमार्फत् आफ्ना गाडी बिक्री गरिहेको रेनोले छोटो समय अवधिमा २५ सय युनिट कार बिक्री गरेको हो । 

हाल कम्पनीले नेपाली बजारमा रेनो क्याप्चर, न्यू रेनो क्वीड १.० लिटर, रेनो डस्टर, लोजीलगायका मोडलको बिक्री–बितरण गरिरहेको छ ।

कम्पनीका मार्केटिङ्ग हेड सन्दिप क्षेत्रीले कम्पनीको लाइनअपमा रहेका मोडलमध्ये न्यू रेनो क्वीड १.० ले राम्रा बजार लिएको बताएका छन् । उनले भने, ‘कम्पनीको लाइनअपमा रहेकामध्ये यो मोडलले निकै राम्रो बजार पाएको छ । यसप्रति ग्राहकको आकर्षण बढ्दो छ । सँगै ग्राउन्ड क्लियरेन्स, एक्सटेरियर तथा एन्टेरियरको विशेषताको कारण रेनोको राम्रो व्यापार भैरहेको छ ।’ 

उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, आकर्षक इन्फोटेन्टमेन्ट सिस्टम, आकर्षक बडीलगायतका कारण पनि क्वीडले राम्रो बजार पाएको दाबी गरे । उनले क्याप्चर, डस्टर, लोजीको व्यापार भने सन्तोषजनक भएको बताएका छन् । 

हाल कम्पनीले उपत्यकाभित्रका तीनवटा र बाहिर रहेका ९ वटा गरी ११ वटा डिलरशिपमार्फत् कार बेच्दैआएको छ । कम्पनीले काठमाडौंको थापाथाली, नक्साल र भक्तपुरमा रहेको डिलरशिपमार्फत् कार बिक्री गर्दैआएको छ । साथै, रेनोले नारायणगढ, बुटवल, पोखरा, भैरहवा, दाङ, धनगढी, नेपालगन्ज, विराटनगर, बिर्तामोड र जनकपुरबाट थ्रिएस सर्भिस उपलब्ध गराउँदै आएको छ । 

कस्तो छ सर्भिस नेटर्वक ?

बजार व्यवस्थापक क्षेत्रीले कम्पनीको आफ्टर सेल्स सर्भिसमा कुनै कमी नरहेको दाबी गरे । ‘दुई वर्षको समय अवधिमा बिक्री भएका कारमा त्यस्तो जटिल समस्या आएको जानकारी नै छैन । यदि आएको खन्डमा ग्राहकको समस्या समाधान गर्न कुनै कसर बाँकी छाड्दैनौँ । हाम्रा ११ वटै सर्भिस सेन्टरमार्फत् सुविधा सम्पन्न सेवा प्रदान गर्दैआएका छौँ’ क्षेत्रीले भने । 

कम्पनीले काठमाडौंको कालोपुल र टेकुमा अन्तर्राष्ट्रिय स्तरको सर्भिस सेन्टर संचादन गर्दै आएको छ भने उपत्यका बाहिर डिलर नेटर्वक भएका सबै सहरमा सर्भिस सेन्टर सञ्चालन भइरहेको छ । 

भाबी योजना ?

कम्पनीले चाँडैनै रेनो क्याप्चरको फोर–ह्वील ड्राइभ भर्सनलाई नेपाली बजारमा ल्याउने तयारी गरिएको जानकारी दिएको छ । यसकासाथै, अन्तर्राष्ट्रिय बजारमा जस्तै नेपाली बजारमा पनि विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएकाले चाँडै इलेक्ट्रीक गाडी सार्वजनिक गर्ने जनाएको छ । 

‘गत असोजमा सम्पन्न नाडा अटो शोमा प्रदर्शन गरिएको रेनो जोयलाई चाँडै बजारमा ल्याउने तयारी गरेका छौं’ क्षेत्रीले मेरोअटोसँग भने । 

हाल कम्पनीले क्वीडको ६ भेरियन्ट, क्याप्चरका ९, डस्टरको ७ र लोजीको ३ भेरियन्ट नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top