काठमाडौं । चीतवन र नवलपरासीको सीमाना नारायणी नदीमा ‘राइनो क्रुज’ संचालनमा ल्याइने भएको छ । गैँडाकोटस्थित नवलपुर क्षेत्रमा पर्यटकीय प्रयोजनका लागि माघ भित्रै क्रुज संचालनमा ल्याउन लागिएको हो ।
होटल रिभर क्राउन प्रालि र राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले संयुक्त रूपमा क्रुज संचालनमा ल्याउन लागेका हुन् । विसं २०७९ माघ १ गते चितवनको भरतपुर–१६ काभ्रेघाटमा संचालन गरिएको क्रुज विभिन्न कारणले बन्द भएको थियो । अहिले पुनर्निर्माण गरी संचालनमा ल्याउन लागिएको हो । क्रुज संचालनका लागि कम्पनीले यसअघि नै अनुमति समेत पाइसकेको छ ।
गैँडाकोट पुलचोकबाट देवघाटसम्म क्रुज संचालन गर्ने तयारी भइरहेको कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुंगेलले जानकारी दिए । उनका अनुसार क्रुजभित्रै रेष्टुरेन्टदेखि लाइभ म्युजिकको सुविधा रहने छ । दुईतले क्रुजबाट ३६० डिग्री भ्यू अवलोकन गर्न सकिने उनले बताए । क्रुजको क्षमता २०० जनाको भए हाललाई १५० जनालाई सेवा दिनेगरी संचालन गर्न लागिएको उनको भनाइ छ ।
‘यातायातको रूपमा नभई पर्यटकीय प्रयोजनाका लागि राइनो क्रुज संचालनमा ल्याउन लागिएको हो । क्रुज भित्रै रेष्टुँरादेखि लाइभ म्युजिकको सुविधा छ । दुईतले क्रुजको माथिल्लो तलाबाट ३६० भ्यु हेर्न सकिनछ,’ उनले भने ।
राइनो क्रुज संचालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि संचालन गर्ने योजना रहेको ढुंगेलले जानकारी दिए ।
राइो क्रुजलाई लक्जरी रिभर क्रुज बनाउँदै नियमित प्याकेजहरू संचालन गरिने उनले बताए । उनका अनुसार क्रुजमा टिकट मात्र काटेर यात्रा गर्न गर्न सकिने छ । साथै, प्याकेज अन्तर्गतको टिकट किन्नेले भन्ने क्रुजभित्रै खाना तथा नास्ताको सुविधा पाउने उनले बताए ।
होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीबाट संचालन गरी होटललाई तारे (स्टार) होटलको स्तरमा पुर्याउने र आगामी ५ वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी रहेको उनको भनाइ छ । गैँडाकोटमा नारायणी नदीमाथि बन्दै गरेको सिग्नेचर पुलसँगै राइनो क्रुजले यस क्षेत्रमा पर्यटनको नयाँ ढोका खोल्ने ढुंगेलले बताए ।

