काठमाडौं । चीतवन र नवलपरासीको सीमाना नारायणी नदीमा ‘राइनो क्रुज’ संचालनमा ल्याइने भएको छ । गैँडाकोटस्थित नवलपुर क्षेत्रमा पर्यटकीय प्रयोजनका लागि आइतबारदेखि क्रुज संचालनमा ल्याइएको हो ।
होटल रिभर क्राउन प्रालि र राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले संयुक्त रूपमा क्रुज संचालनमा ल्याएका हुन् । विसं २०७९ माघ १ गते चितवनको भरतपुर-१६ काभ्रेघाटमा संचालन गरिएको क्रुज विभिन्न कारणले बन्द भएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुंगेलले क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको बताए ।
उनका अनुसार क्रुजको पूरा क्षमता २०० जना भए पनि हाल १५० जनालाई सेवासुविधा उपलब्ध गराउने गरी संचालनमा ल्याइएको छ । सामान्यतया यात्रुले करिब १ घण्टा क्रुजमा बिताउन सक्ने उनको भनाइ छ । यद्यपि, प्याकेज अनुसार समय घटबढ गर्न सक्ने उनले बताए ।
साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट र चौडाइ २१ फिट छ। उनका अनुसार क्रुजभित्रै रेष्टुरेन्टदेखि लाइभ म्युजिकको सुविधा रहने छ । दुईतले क्रुजबाट ३६० डिग्री भ्यू अवलोकन गर्न सकिने उनले बताए ।
‘ब्रेकफास्ट क्रुजिङ, लन्च क्रुजिङ, डिनर क्रुजिङ, विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता शुभकार्य क्रुजिङ एवम् अन्य स्पेसल बुकिङका आधारमा क्रुजिङ हुनेछ,’ उनले प्याकेज बारे जानकारी दिँदै भने ।
उनका अनुसार क्रुजिङका लागि साधारण टिकट ५०० रुपैयाँ तोकिएको छ। त्यस्तै, ब्रेकफास्ट क्रुजिङको १ हजार ५००, लन्च क्रुजिङको २ हजार, डिनर क्रुजिङको ३ हजार र अन्य कार्यक्रमका लागि प्याकेजअनुसार शुल्क निर्धारण गरिएको उनले जानकारी दिए।
क्रुजमा यात्रा गर्ने यात्रुको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको छ । क्रुज संचालनले गैँडाकोट तथा नारायणी क्षेत्रमा आर्थिक क्रियाकलापलाई चलायमान बनाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उनको भनाइ छ ।


