नयाँ राइड सेयरिङ ‘जुमजुम’ , पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुट

काठमाडौं । नेपाल मोबिलिटी सोलुसन्सले नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जुमजुम’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ग्राहकहरूको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताका साथ जुमजुम संचालनमा ल्याएको हो ।

जुमजुम एफवान सफ्ट ग्रुपको विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मीद्वारा विकसित एप हो । यसले नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने कम्पनीले अपेक्षा राखेको छ ।

एफवान सफ्ट ग्रुपका सीईओ सुवास शर्माले कम्पनीले नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको बताए ।

‘एफवान सफ्टले सधैं डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौं,’ उनले भने ।

यस प्लेटफर्ममा प्रयोगकर्ताले सहजै एकैसाथ धेरै सवारी बुक गर्न सक्नेछन् । साथै, आफ्ना लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरूका लागि पनि सवारी बुक गरिदिन मिल्नेछ।

कम्पनीले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्न यात्रु र चालक दुवैका लागि ५ लाख रुपैयाँसम्मको बीमा प्रदान गर्ने जनाएको छ।

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूका लागि अविश्वसनीय बचतमा जोड दिएको जनाएको छ। चालकहरूले १ हजार रुपैयाँ ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्नेछन्।

कम्पनीका अनुसार प्रारम्भिक दुई हप्ताको लागि शून्य प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जति धेरै राइड त्यति कम कमिसनको योजना छ । साथै चालकहरू दैनिक बोनस २ हजारसम्म कमाउन सक्ने कम्पनीले बताएको छ ।


Back_to_top