काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले एटो-२ आगामी जनवरीमा भारतबाट बिक्री सुरु गर्ने खबरहरु आएका छन् । अहिले चीनमा यूआन अप नामबाट बिक्री हुँदै आएको कम्प्याक एसयूभी जनवरी २०२५ मा भारतबाट बिक्री सुरु हुन लागेको हो ।
एशियन मार्केटमा एटो-२ नाममा आउने बीवाइडी युवान अप अहिले लेफ्ट ह्याण्ड ड्राइभ बजारमा भने बिक्री सुरु भइसकेको छ । राइट ह्याण्ड ड्राइभमा उत्पादन सुरु भएसँगै नेपाल, भारत, मलेशिया, थाइल्याण्ड, अष्ट्रेलिया, वेलायत जस्ता देशहरुमा यसको बिक्री सुरु हुनेछ ।
एटो-२ (युवान अप) को लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम छ । यसको ह्वील वेस २६२० एमएम रहेको छ । धेरै अर्थमा एटो-३ जस्तै डिजाइन देखिने नयाँ एसयूभीमा स्लीक एलइडी हेडल्याम्प तथा डीआरएल, प्रोमिनेन्ट बम्परका साथमा क्लोजअप ग्रिल दिएको छ ।
थुप्रै स्थानमा क्रोम फिनिसिङ दिइएको एसयूभीमा ठूलो साइजको अलोय ह्वील दिएको छ । बडी कलरकै डोर ह्याण्डल र बाक्लो साइजको बडी क्लाइडिङ दिइएको छ ।
यसको ड्यासबोर्डमा १२.८ इन्चको रोटरी टचस्कृन डिस्प्ले, हेडअप डिस्प्ले, एम्बीयन्ट लाइट, वायरलेस चार्जिङ प्याड, प्यानारोमिक सनरुफ, ८ वटा प्रिमियम स्पीकर सहितको साउण्ड सिस्टम र एडास सेफ्टी फिचर पाउन सकिन्छ ।
बीवाइडीले एटो-२ मा ४५.१ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यसको सीएलटीसी रेन्ज ४०१ किलोमिटर तथा रियल वर्ड रेन्ज ३२० किलोमिटर रहेको छ ।

