काठमाडौं । चितवनमा सवारी दुर्घटना ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटना १३६ प्रतिशतले बढेको हो ।
गत आवमा चितवनमा कुल १ हजार ५० वटा सडक दुर्घटना भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ६०५ वटा धेरै हो । अघिल्लो आवमा ४४५ सवारी दुर्घटना भएको थियो ।
गत आवमा चितवनमा दुर्घटना संख्या बढेसँगै मृतक र घाइतेको संख्या पनि बढेको छ । गत आवमा सवारी दुर्घटनामा परी १२० जनाको मृत्यु भएको छ । १७२ जना गम्भीर घाइते भएका छन् भने १७०५ जना सामान्य घाइते भएको कार्यालयको तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ४४५ सवारी दुर्घटना हुँदा ११५ जनाको मृत्यु भएको थियो भने १५० जना गम्भीर र ६८२ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९/८० मा जम्मा ३०३ सवारी दुर्घटना ७८ जनाको मृत्यु भएको थियो ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना पुसमा १४१ र चैतमा १३४ वटा भएका छन् । सो वर्षको साउनमा १०, भदौमा ५, असोजमा १३, कात्तिकमा १८, मंसिरमा १०, पुसमा ८, माघमा ७, फागुनमा १०, चैत्रमा ८, वैशाखमा १०, जेठमा ४, असारमा १७ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएका छन् । त्यस्तै, मापसे गरी सवारी चलाउने, जथाभावी ओभरटेक गर्दा लगायत कारणले दुर्घटना बढेको कार्यालयले जनाएको छ ।

