काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये युवा नै बढी छन् ।
चालु आर्थिक वर्षको १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्षसम्मका ८० जना छन् । यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षभन्दा माथि उमेर समूहका ५४ जनाले ज्यान गुमाएका छन् । चालु आवमा उपत्यकामा पाँच हजार १८० सवारी दुर्घटनामा १४९ जनाको मृत्यु, १८४ सशक्त घाइते र तीन हजार ४८५ सामान्य घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त युवाहरु तीव्र गतिका कारण सवारी चलाउने कारणले गर्दा धेरै दुर्घटना भएको बताउँछन् ।
‘दुर्घटनामा ज्यान गुमाएका अधिकांश यात्रु मोटरसाइकल चलाउने नै रहेका छन्’, उनले भने ।
गत आवमा पनि सोही उमेर समूहका व्यक्तिको धेरै सवारी साधनमा मृत्यु हुने गरेको तथ्यांक छ । आव २०७२÷०७३ मा १६६ मध्ये ९२ र आव २०७३÷०७४ मा १८२ मध्ये ८६ जना सोही उमेर समूहकाहरुले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । महाशाखाका प्रमुख पन्त उपत्यकामा हुने सवारी दुर्घटना अपराह्नभन्दा राति धेरै हुने गरेको बताउँछन् ।
सवारी साधन धेरै र सडक साँघुरो भएका कारण कतिपय सवारी साधन ठोक्किएर दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ । हाल उपत्यकामा वार्षिक ११ लाख ३२ हजार ९२५ सवारी साधन आवतजावत गर्छन् । देशभर करीब २७ लाख सवारी साधन छन् ।
काठमाडौँ उपत्यकामा मात्र ४० ट्राफिक प्रहरी एकाइमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । ट्राफिक दरबन्दी कम र सवारी साधनको संख्या धेरै हुँदा उपत्यकाको सवारी व्यवस्थापनमा समस्या हुँदै आएको महाशाखा प्रमुख पन्तले जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पूर्वाधारको कमी र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको बताउँछन् ।
‘उपत्यकामा आफ्नो सवारी साधनका साथै अर्काको सवारी साधनबाट पनि उत्तिकै दुर्घटना हुने गरेको छ’, उनले भने ।
उपत्यकामा हुने दुर्घटनामा महिलाको तुलनामा पुरुषको धेरै मृत्यु हुने गरेको छ । महाशाखाका अनुसार आव २०७२÷०७३ मा १३० पुरुष र ३६ महिला, आव २०७३÷०७४ मा १२१ पुरुष र ६१ महिला र चालु आवमा ११७ पुरुष र ३२ महिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
नियम उल्लंघन गर्ने बढे
महाशाखाले चालु आवमा सवारी साधन उल्लंघन गर्ने तीन लाख ७८ हजार ९२७ सवारी साधनलाई कारवाहीसमेत गरेको छ । लेन अनुशासन ३८ हजार ८१४, मापसे २६ हजार १९७, ट्याक्सी कारवाही ६ हजार ६८०, जेब्रा क्रसिङ कारवाही ७ हजार ३९७, हर्न कारवाही १३ हजार १९, सिसिटिभी १ हजार ९६३, बुलेट मोटरसाइकल ६ हजार ८०२ र अन्य कारवाही छन् । महाशाखाका अनुसार हाल उपत्यकामा एउटा ट्राफिक प्रहरीले एक हजार ४४ सवारी साधन व्यवस्थापन गर्दै आएको छ ।