काठमाडौं । नेपालमै पहिलो पटक काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरु प्रदर्शन गरिने छ । आगामी जुलाई २ र ३ तारिखमा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा फिल्म प्रदर्शन गरिने छ ।
नासा फाउन्डेसनले विभिन्न संघ संस्थाको सहकार्यमा सो फेस्टिभल आयोजना गर्न लागेको हो ।
फेस्टिभलमा बढीमा १० मिनेटसम्मका लगभग २ दर्जन फिल्म प्रदर्शन गरिने छ भने, उत्कृष्ट फिल्मलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै फेस्टिभलमा विदेशी फिल्म मध्येको उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ ।
फिल्म फेस्टिभलका लागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलको समेत सहकार्य रहेको छ भने, अन्य वृत्तचित्र, अन्र्तक्रिया र प्रदर्शनसमेत हुनेछ ।
आज संसारमा वार्षिक रुपमा चौध लाख भन्दा बढी व्यक्तिहरुले सडक दुर्घटनामा परि अकाल मै ज्यान गुमाई रहेका छन् भने नेपालमा २ हजार भन्दा बढी अनाहक मै मारिन्छन् ।
त्यसै गरि नेपालमा वार्षिक हजारौंको संख्यामा अंगभंग भइरहेका छन् भने वार्षिक अर्बौको क्षति भइरहेको पनि छ ।
त्यसैको एक प्रयासको रुपमा नासा फाउन्डेसन र अन्य संस्थाहरुले पहिलो पटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गर्न लागेको बताएइएको छ ।
नासा फाउन्डेसन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको कल्याणकारी संस्था हो ।