भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ ।
एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएकी छिन् ।
बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री गरिरहेको रानाले दैनिक तीन क्विन्टल तरकारी बिक्री हुने गरेको बताइन्उर । ‘दुई दिन अघिसम्म दैनिक पाँच हजार रूपैयाँसम्मको बिक्री भयो, अहिले खपत अलि कम छ ।’ उनले भिनन् ।
राजमार्गमा यात्रा गर्ने नागरिकले बस, ट्रक, मोटरसाइकल र साइकल रोकेर खरभुजा र काँक्रा खरिद गर्ने गरेका छन् । उनीहरु बिक्रीका लागि फड् राखेर बस्दैआएका छन् । उनले भनिन्, ‘यहाँको कमाइले घर खर्च र पढाइ खर्च चलेको छ ।’ दशकौँदेखि किसानले बगरमाखेती गर्दै आएका छन् ।
यस्तै, वनहरा शिविरका बिरा राना अचेल बगरमा लगाएको नगदेबाली बिक्रीमै व्यस्त छिन् । छोराछोरीलेसमेत बिक्रीमा सघाइरहेको बताउँदै उनले गत चैत महिनायता ५० हजार रूपैयाँ आम्दानी भएको बताइन् । ‘अहिले बिक्री अलिकति कम छ,’ रानाले भिनन्, ‘बगरमा १५ हजार रूपैयाँ जति लगानी गरेको हुँ ।’
राजमार्ग छेउमै फड् राखेर व्यापार गर्दै आएका राना अन्य मौसममा भने डकर्मीको काममा व्यस्त हुने गरेका छन् । दैनिक दुई हजार रूपैयाँभन्दा बढीको बिक्री हुने गरेको र बगरको कमाइले बालबालिकाको लालनपालनदेखि घरको नून तेलसम्मको खर्च धानेको रानाको भनाइ छ ।
बगर खेतीका लागि जिल्ला कृषि विकास, रेडक्रस र नगरपालिकाबाट पनि सहयोग पाएको रानाले बताए ।
कृष्णपुर नगरपालिकाले यहाँका बगरखेती गर्ने किसानलाई सगोलमा एक लाख रूपैयाँबराबरको मलखाद दिएको थियो । कृषि र रेडक्रसले बीउबिजनको सहयोग गरेको उनले बताए ।
आफू राजमार्ग छेउमा व्यापारका लागि आउनुअघि तरकारी गाउँ गाउँ पुगेर बिक्री गर्ने गरेको रानाले बताए । ‘उत्पादित वस्तुको खपतका लागि बजारको समस्या छैन,’ उनले भने, ‘यहाँको तरकारी काठमाडौँसम्म बिक्री हुन्छ ।’
तीन महिनादेखि पूर्व–पश्चिम राजमार्गको बेदकोट नगरपालिकास्थित चौधर नदी छेउमा सञ्जिता चौधरी तरकारी बिक्री गर्दै आएकी छिन् । बेदकोट नगरपालिका–१० हरपालकी चौधरीले दैनिक तीन हजार रूपैयाँसम्मको तरकारी, खरभुजा र काँक्रा बिक्री गरेका छन् । ‘यात्रुहरु नै हाम्रा ग्राहक हुन्,’ चौधरीले भने ‘बगरबाट थोकमा ल्याएर राजमार्ग छेउमा बसेर फुटकरमा बिक्री गर्छु ।’

