रोल्स रोयस विश्व प्रसिद्ध ब्राण्डमा पर्छ । तर, उक्त कम्पनीले वार्षिक कति यूनिट कार बिक्री गर्छ भन्ने धेरैको चासो हुन सक्छ । कम्पनी स्थापनाको ११६ वर्षमा पहिलो पटक कम्पनीले वार्षिक बिक्री ५ हजार यूनिट पार गरेको हो ।
कम्पनीले सन् २०१९ मा विश्वका ५० देशमा ५ हजार १५२ यूनिट बिक्री गर्दै ५ हजार यूनिटको कोशेढुङ्गा पार गरेको हो । उक्त बिक्री संख्या सन् २०१८ को (४०१७ यूनिट) तुलनामा २५ प्रतिशतले बढी भएको कम्पनीले जनाएको छ ।
कम्पनीका सिइओ टोरस्टन मुलरले उक्त बिक्रीपछि भने, ‘यो हाम्रालागि ठूलो सफलता हो । यो यादगार समय हामी हाम्रा ग्राहक, बिक्रेता र स्टाफहरुसँग साट्न चान्छौँ । सन् २०१९मा विश्वभर हाम्रो नयाँ एसयूभी कुलिनान प्रति ग्राहकले देखाउनु भएको मायाले सन् २०२० हाम्रा लागि अझै राम्रो हुने अपेक्षा गरेका छौं । हाम्रो ब्राण्डप्रति ग्राहकको विश्वासलाई हामी कहिल्यै मर्न दिने छैनौँ ।’
नर्थ अमेरिका, चीन, यूरोप, रसिया, सिंगापुर, जापान, अष्ट्रेलिया, कतार र कोरियामा बिक्री बढेको जनाइएको छ । कम्पनीले विश्वभर रहेका १३५ डिलर नेटवर्कबाट ५० देशमा गाडी बिक्री गर्दै आएको छ ।
कम्पनीले कुलिनान, प्यान्टम, घोष्टजस्ता मोडलको बिक्रीमा आएको बढोत्तरीले समग्र कम्पनीको बिक्री बढेको जनाएको हो ।

