देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । विश्वब्यापी इलेक्ट्रीफीकेशनको चर्चा चुलिरहँदा आइकोनीक मोटरसाइकल निर्माता रोयल इनफिल्डले पनि इलेक्ट्रीक मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ल्याउने पहिलो इलेक्ट्रीक मोटरसाइकलको डिजाइन सार्वजनिक भएसँगै इलेक्ट्रीक मोटरसाइकलको चर्चा भएको हो ।

कम्पनीले बनाइरहेको ‘इलेक्ट्रीक ०१’ को कन्सेप्ट तस्विर इन्टरनेटमार्फत बाहिर आएसँगै धेरै मानिसले यसमा चासो देखाएका छन् । कम्पनीको सार्वजनिक भएको तस्विरमा इन्धन ट्याङ्क जस्तै देखिनेगरी सामान राख्ने ठाँउ दिइएको अनुमान गर्न सकिन्छ ।

रोयल इनफिल्डले इलेक्ट्रीक ०१ मा अलोय ह्वील दिएको देखिन्छ भने अगाडिको सस्पेन्सन पनि फरक किसिमको देखिन्छ । कम्पनीले यसमा वल्ड–फेसोनेड फर्क प्रयोग गरेको देखिन्छ । तर, यही फ्रन्ट सस्पेन्सन उत्पादन मोडलमा पनि आउने छ भन्ने विश्वास भने गर्न सकिदैन ।

रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलमा कुन साइजको मोटर वा ब्याट्री दिनेछ भन्ने विषयमा अहिल्यै केही बाहिर आएको छैन । यद्यपि, कम्पनीले ल्याउने नयाँ मोटरसाइकलमा २५० देखि ३५० सीसीसम्मका कम्बस्चन इन्जिन भएका गाडीले प्रदान गर्ने पावर भने पाउन सक्ने धेरैले अनुमान गरेका छन् ।


Back_to_top