काठमाडौं । यामाहाको चर्चित आइकोनीक मोटरसाइकल आरएक्स १०० को जस्तै आवाज ल्याउन कम्पनीले मिहिनेत गरिरहेको छ । यामाहा इन्डियाका अध्यक्ष इशिन चिहानाले एक अन्तर्वार्तामा आफुहरुलाई पुरानै आवाजमा आरएक्सलाई ल्याउन हम्मेहम्मे परेको बताए ।
भारतमा आरएक्स १०० को उत्पादन पुनः सुरु हुने खबरहरु धेरै अगाडिदेखि आएका थिए । करिब २०/२२ वर्ष अन्तर्राष्ट्रिय बजारमा सफलताको स्वाद चाखेको आरएक्स १०० मोटरसाइकललाई धेरैले आफ्नो ग्यारेजमा सजाएर राखेका छन् ।
टू–स्ट्रोक इन्जिनमा हुँदा बजारमा राज गरेको मोटरसाइकल फो-स्ट्रोकमा आउँदा बजार हिस्सा कस्तो पाउला र मानिसहरुको प्रतिक्रिया कस्तो रहला भन्ने विषयमा कम्पनीमा छलफल भइरहेको अध्यक्ष चिहानाले बताए ।
‘आफुलाई अन्तर्राष्ट्रिय बजारमा आरएक्स १०० को इतिहास बारे राम्ररी थाहा भएको तर, सबै उमेरका राइडरहरुका लागि यो मोटरसाइकल प्रतिष्ठित भएको देखेर म छक्क परेको छु’, अध्यक्ष चिहानाले भने ।
उनले यामाहा आरएक्स १०० भारतसँगै अन्य थुप्रै देशमा विशेष मोडल भएको र यसको स्टाइल, हल्का तौल, पावर र आबाजले यसलाई उत्कृष्ट बनाएको दावी गरे । फो-स्ट्रोकमा यी मापदण्ड पुरा हुनेगरी ल्याउन कम्तीमा २०० सीसी क्षमताको इन्जिनमा आउनु पर्ने उनको भनाई थियो ।
‘आफुहरु आरएक्स १०० लाई बर्बाद गर्ने कुनै सोचमा नरहेको र जहिले सहि प्रदर्शन, उच्च प्रदर्शन, हल्का वजनको मोटरसाइकल उत्पादन गर्न सक्छौं भन्ने निश्चित हुन्छ, त्यतिबेला नै नयाँ आरएक्स बजारमा ल्याउँछौ’ उनले भने ।
लामो समयसम्म एकछत्र राज गरेको आरएक्स १०० को नयाँ संस्करण १५५ सीसी क्षमताको इन्जिनमा हुने खबर भारतीय मिडियाले लेखेका थिए । केही मिडियाले त आरएक्स ईभीमा आउने पनि रिपोर्ट प्रकाशित गरेका थिए । तर, नयाँ आरएक्स मोडल २०० सीसी माथिको इन्जिनमा आउने यामाहा इन्डियाका अध्यक्षको भनाइबाट बुझ्न सकिन्छ ।
यामाहा इन्डियाका अध्यक्षको भनाईपछि १५५ सीसी क्षमताको इन्जिन नयाँ आरएक्सको लागि पर्याप्त हुने छैन । तर, निकट भविष्यमा यामाहा आरएक्स नामले मोटरसाइकल पुनः बजारमा आउने विषयमा भने ढुक्क हुन सकिन्छ ।

