काठमाडौं । अब हवाई जहाजमा पनि उभिएर यात्र गर्न पाइने भएको छ ।
हालसम्म सिट बसेर मात्रै यात्रा गर्न पाइने व्यवस्था रहेकोमा बजेट एयरलाइन्स रायन एयरले सन् २०२६ देखि उभिएर पनि यात्रा गर्न पाउने व्यवस्था गर्न लागेको हो ।
युरोन्युजका अनुसार रायन एयरले आफ्ना केही जहाजहरूमा यात्रुलाई सस्तो भाडा दरमा उभिएर यात्रा गराउने तयारी गरेको छ । २ घण्टाभन्दा कम समयको छोटो दुरीका उडानमा मात्र उभिएर यात्रा गर्न दिइने बताइएको छ । एयरलाइन्सले न्यूनतम ७.९९ युरोमै यात्रा गराउने प्रस्ताव गरेको हो ।
सार्वजनिक भएका भिडियो अनुसार जहाजमा उभिएर यात्रा गर्ने मिल्ने सिटको डिजाइन साइकलको सिट जस्तै देखिन्छ । जसमा यात्रु पूरै बस्न मिल्दैन । तर, पछाडि टाउको र ढाड अड्याउन मिल्ने गरी सपोर्ट राखिएको छ ।
साथै, जहाज टेक अफ, ल्याण्डिङ र टर्बुलेन्सको समयमा यात्रुहरूलाई सुरक्षित राख्नको लागि सिटबेल्ट समेत राखिएको छ । त्यस्तै, सिटको थप स्थिरताको विमानको छतमा जोड्ने ठाडो पोलहरू समेत राखिएको छ ।

यस्तो सिटको तौल पनि सामान्य विमान सिटको तुलनामा आधा कम हुने भएकाले इन्धनको खपत र विमानको तयारी समय दुवै घटाउन मद्दत गर्ने बताइएको छ । रिपोर्ट अनुसार यस्ता खालका सिट राखिएका जहाजबाट आपतकालीन अवस्थामा यात्रुहरूलाई चाँडै बाहिर निकाल्न सहयोग मिल्नेछ । सो लगायत अरु सुरक्षा परीक्षणहरू पास भइसकेको छ । तर, उडान नियामक निकायहरूले अन्तिम स्वीकृति दिन भने बाँकी छ ।
युरो विक्ली न्युजले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार यो योजनालाई ‘स्काइ राइडर २.०’ नाम दिइएको छ । यो स्याडल शैलीको सिट इटालीको कम्पनी ‘एभियो इन्टेरियर्स’ले सन् २०१८ मै डिजाइन गरेको थियो । त्यसलाई सन् २०२६ को सुरुमा व्यावसायिक रूपमा लागू गर्ने तयारी छ ।
रायन एयरलाई स्काइ राइडर सिट इटालियन निर्माता एभियोइन्टरियर्सले उपलब्ध गराउने छ । स्ट्यान्डिङ सिट मक अप सन् २०१२ देखिको अवधारणात्मक प्रोटोटाइप रहेको कम्पनीले जनाएको छ ।
रायन एयरका सीईओ माइकल ओलेरीले सन् २०१० मै हवाई जहाजको ठाउँ अधिकतम बनाउन र अत्यन्तै कम भाडामा सेवा उपलब्ध गराउन ‘स्टयान्डिङ सिट’को सैद्धान्तिक अवधारणाको बारेमा छलफल गरिएको बताए ।
‘स्टयान्डिङ सिट’मा यात्रुहरूको आराम सुविधाको बारेमा भने समस्या देखिने चिन्ता व्यक्त भइरहेको छ । छोटो उडानहरूमा पनि उभिएर यात्रा गर्दा यात्रुलाई असुविधा, थकान र रक्तसञ्चार समस्या उत्पन्न हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।


