काठमाडौं । मारुती सुजुकीले केही दिनअघि भारतमा सार्वजनिक गरेको सुजुकीको नयाँ मोडल कार एस–प्रेसो नेपालमा अबको केही दिनमै सार्वजनिक हुने भएको छ ।
नेपालको लागि सुजुकीको आधिकारीक वितरक सिजी अटोमोवाइलले नाडा अटो शोबाटै बुकिङ सुरु गरेको सुजुकी एस–प्रेसो नेपाली बजारमा पनि प्रतिक्षित कार हो ।
भारतमा बिभिन्न ४ भेरियन्टमा सार्वजनिक भएको एस–प्रेसोको कुन कुन मोडल नेपालमा सार्वजनिक हुने छ भन्ने विषयमा कम्पनीले अहिलेसम्म केही जानकारी दिएको छैन ।
माइक्रो एसयूभीको थिममा निर्माण भएको एस–प्रेसोमा भिटारा बे्रजामा समेटिएको जस्तै विशेषता दिइएको छ । नेपालमा सार्वजनिक हुनुअघि थाहापाउनुस् एस–प्रेसोका केही विशेषता ।
डायमेन्सन
एस–प्रेसोको लम्बाई ३५६५ एमएम, चौडाई ३६७९ एमएम र उचाई १५६४ एमएम रहेको छ । यसको ह्वीलवेस २४२२ एमएम रहेको छ । २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ । यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
इन्जिन
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ । जसले ८२ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

विशेषता
एस प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।
कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को–ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ ।
माइलेज
एस–प्रेसोले प्रतिलिटर २३.९५ किलोमिटर माइलेज दिने एआरएआईले सर्टिफाईड गरेको छ ।
मूल्य
नेपाली बजारमा एस–प्रेसोको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बुकिङ गर्न चाहने ग्राहकले ५ हजार रुपैयाँ तिरेर बुकिङ्ग गर्न सक्ने छन् ।

