काठमाडौं । अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत साँगा-धुलिखेल (पहिलो) खण्डको म्याद थप गरिएको छ ।
१५.८ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति भइरहेको छ । सोमध्ये ८.३ किलोमिटर साँगा-धुलिखेल खण्डको काम तोकिएको म्याद (२०८२ मङ्सिर २६ गते)भित्र नसकिएपछि पहिलो पटक करिब १ वर्ष म्याद थपिएको हो ।
वि.सं. २०७९ मङ्सिर २७ गते ठेक्का सम्झौता भएको यो सडक ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सूर्यविनायक-धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतोले साँगा-धुलिखेल खण्डको म्याद ३६३ दिन (२०८३ मंसिर २३ गतेसम्म) थपिएको जानकारी दिए ।
‘ठेक्का स्मझौता अनुसार साँगा धुलिखेल सडक २०८२ मंसिर २६ गतेसम्म सम्पन्न भइसक्नुपर्थ्यो । तर, हालसम्म करिब ६० प्रतिशत मात्रै काम सकिएको छ । बाँकी काम सक्न ३६३ दिन म्याद थपिएको छ,’ उनले मेरोअटोसँग भने ।
थपिएको म्याद अगावै यसखण्डको काम सक्ने लक्ष्य राखिएको उनले बताए । उनका अनुसार ८.३ किमी सडकमध्ये हालसम्म २ किमी सडक ६ लेनमा कालोपत्र गरिसकिएको छ । धुलिखेल-बाँसबारी (१ किमी) र बनेपाको पुलबजार-जनगल क्षेत्रमा १ किमी सडक कालोपत्र गरिसकिएको हो ।

अन्य क्षेत्रमा पनि धमाधम काम भइरहेको उनले बताए । यस सडकमा नाला, आरसीसी वाल निर्माणको काम ९० प्रतिशत बढी सकिएको छ । त्यस्तै, बेस/सबबेस राख्ने काम भइरहेको उनले बताए ।
यसखण्डमा एउटा घर र ६० वटा बिजुलीको पाल हटाउन बाँकी रहको उनले बताए । समग्रमा अझै ४० प्रतिशत काम बाँकी छ । यो खण्ड निर्माणको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा पाएको छ ।
सूर्यविनायक-साँगा खण्डको काम निकै सुस्त
पहिलो खण्डको झण्डै दुईतिहाई काम सकिँदा ७.५ किमी लामो दोस्रो खण्ड (सूर्यविनायक-साँगा)को भने निकै सुस्त छ । ३ वर्षमा यसखण्डको भौतिक प्रगति ४२ प्रतिशत पुगेको आयोजना प्रमुख महतोले जानकारी दिए ।
यद्यपि, पछिल्लो दिनमा कामले तीव्रता पाएको उनले बताए । अहिले वाल लगाउने, माटो भर्ने, सबबेस राख्ने, कल्भर्ट निर्माण लगायत काम धमाधम भइरहेको उनले बताए । आरसीसी वाल, प्लम वाल, नाला निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ भने २ वटा मात्रै कल्भर्ट बनाउन बाँकी छ ।

यसखण्डमा हालसम्म कालोपत्र सुरू गरिएको छैन । चाँडै कालोपत्र गर्न तयारी स्वरुप १ किमी क्षेत्रमा सबबेस राखिसकिएको उनले बताए । ‘पहिलोखण्डको तुलनामा सूर्यविनायक-साँगा खण्डको काम सुस्त छ । भौतिक प्रगति ४२ प्रतिशत छ,’ उनले भने, ‘यद्यपि, पछिल्लो समय कामले तीव्रता पाएको छ । अहिले धमाधमा वाल, कल्भर्ट, नाला, सबेबेस लगायतको काम भइरहेको छ । अब चाँडै कालोपत्र गर्न सुरू गर्छौं ।’
यसखण्डमा साइट क्लियरेन्सको काम बाँकी नै रहेको योजना प्रमुख महतोले बताए । उनका अनुसार अझै १५ वटा घर र १५३ वटा बिजुलीको पोल हटाउन बाँकी छ ।
यसखण्डको तोकिएको म्याद यही पुस २३ गते सकिँदै छ । निर्माण कम्पनीले १ वर्ष म्याद थप्न प्रस्ताव गरे पनि निर्णय भइनसकेको आयोजनाले जनाएको छ । यो खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा पाएको छ ।
पुलको रि डिजाइन स्वीकृत हुनै बाँकी
सूर्यविनायक-धुलिखेल सडक अन्तर्गत तीन वटा पुल निर्माणका लागि छुट्टै ठेक्का लगाइएको छ । तर, पुल निर्माणको प्रगति अति न्यून छ ।
भक्तपुरको जगाती, काभ्रेको महादेव र पुण्यमाता खोलामा पुल निर्माण हुँदै छन् । तीमध्ये महादेव पुलको भौतिक प्रगति १५ प्रतिशत पुगेको छ भने जगाती र पूण्यमाताको रि डिजाइन स्वीकृतिको चरणमा रहेको आयोजना प्रमुख महतोले बताए ।

‘तीन पुलमध्ये महादेव पुलको काम भइरहेको छ । प्रगित १५ प्रतिशत पुगेको छ । जगाती र पुयण्माताको पहिलाको डिजाइमा स्थानीले विरोध गरेपछि पुनः डिजाइन गरी स्वीकृतिका लागि पेश गरेका छौं । अन्तिम चरणमा छ, स्वीकृति हुनेबित्तिकै काम सुरू हुन्छ,’ उनले भने ।
पुल निर्माणको ठेक्का हिमदुङ एण्ड थोकर-रामजानकी जेभीले ५७ करोड ५० लाख रुपैयाँमा (भ्याटसहित) पाएको छ । सम्झौता अनुसार २०८२ असोज ५ गते भित्र काम सकिसक्नुपर्ने हो । तर, हालसम्म डिजाइन नै स्वीकृत हुन नसकेपछि १ वर्ष म्याद थपिएको छ ।
समग्रमा सूर्यविनायक-धुलिखेल सडकको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । यो सडक निर्माण सम्पन्न भएसँगै अरनिको, वीपी राजमार्ग हुँदै पूर्वीनेपाल जाने यात्रुलाई सहज हुनेछ । साथै, यात्राअवधि समेत छोटिने छ ।

