काठमाडौं । नेपालमा दुई पाङ्ग्रे सवारी साधनको बिक्रीले लय समाउँदै गर्दा होन्डा स्कुटर सेग्मेन्टमा ‘अनस्टपएवल’ देखिएको छ । २०२४ मा होन्डाले स्कुटर सेग्मेन्टमा एक्लै झण्डै ५० प्रतिशत बजार हिस्सा ओगटेको देखिन्छ ।
जनवरी २०२४ देखि नोभेम्बर २०२४ सम्ममा जम्मा ७२ हजार ९२५ यूनिट स्कुटर आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । कुल आयात मध्ये होन्डाले ३५ हजार १३२ यूनिट स्कुटर आयात गरेको तथ्यांकले देखाउँछ । जुन कुल आयातको ४८ प्रतिशत हो ।
सन् २०२४ मा भएको कुल स्कुटर आयातमा दोस्रो नम्बरमा टीभीएसका स्कुटर छन् । टीभीएससँग २६ प्रतिशत बजार हिस्सा देखिन्छ । टीभीएसले ११ महिनाको अवधिमा १९ हजार १३४ युनिट स्कुटर आयात गरेको देखिन्छ ।

टीभीएसलाई पच्छाई रहेको यामाहा तेस्रो धेरै स्कुटर आयात गर्ने कम्पनी हो । टीभीएसले सोही अवधिमा १३ हजार ६३८ युनिट स्कुटर आयात गर्दै १९ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
सन् २०२३ को तुलनामा यामाहाले आफ्नो बजार हिस्सा बढाउँदा टीभीएसले केही प्रतिशत बजार हिस्सा गुमाएको देखिन्छ । होन्डाले पनि आफ्नो बजार हिस्सा अघिल्लो वर्षको तुलनामा बढाएको हो ।
यी तीन ठूला स्कुटर बिक्रेतामा होन्डा निकै अगाडि रहँदा टीभीएस र यामाहा बीचको दुरी कम हुँदै गएको देखिन्छ ।
होन्डाले डिओ, एक्टीभा र ग्रजिया स्कुटर नेपाली बजारमा बिक्री गर्दै आएको छ । टीभीएसले एनटर्क १२५ स्कुटर उपलब्ध गराएको छ भने यामाहाले रेजेडआर, फसिनो र एरोक्स स्कुटर बिक्री गरिरहेको छ ।
त्यस्तै, हिरोको बजार हिस्सा ४ प्रतिशत, सुजुकीको १ प्रतिशत र भेष्पा अप्रिलियाको २ प्रतिशत देखिन्छ ।
माथि उल्लेखित तथ्यांकमा कुनैपनि ब्रान्डले आयात गर्ने विद्यूतीय दुई पाङ्ग्रे साधनको आायत तथ्यांक समावेश गरिएको छैन ।

