काठमाडौं । ‘विग ड्याडी अफ एसयूभी’ नारासहित महिन्द्राले केही दिन अघि देखाएको स्कोर्पियोको नयाँ मोडल अहिले चर्चाको शिखरमा छ । कम्पनीले नयाँ स्कर्पियोको पछाडि ‘एन’ थप गरेर पहिलो तस्विर सार्वजनिक गरेको हो ।
जुन महिनाबाट विक्री सुरु हुने स्कर्पियो पहिलेको तुलनामा निकै आकर्षक डिजाइनमा देखिएको छ । नयाँ स्कर्पियो बजारमा आउने भएपनि कम्पनीले पुरानो मोडलको विक्रीलाई पनि निरन्तर राख्ने भएको छ । त्यसैले ‘स्कर्पियो एन’ नयाँ जेनेरेशन भन्दा पनि नयाँ मोडल हो ।
महिन्द्राले यसको मूल्य लगायतको विषयमा कुनै जानकारी नदिए पनि रेगुलर स्कर्पियोभन्दा माथि र एक्सयूभी ७०० भन्दा तल राखेर यसको मूल्य निर्धारण हुने अपेक्षा गर्न सकिन्छ ।
अहिले विक्री भइरहेको स्कर्पियोमा १.९९ र २.२ लिटर एमहक डिजेल इन्जिन रहेको छ । तर, स्कोर्पियो एनमा पहिलेकै डिजेल इन्जिन र नयाँ २.० लिटर पेट्रोल इन्जिन रहने अपेक्षा गरिएको छ । दुबै डिजेल र पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटीक गियरबक्स छनोट मिल्ने छ ।
महिन्द्राले स्कर्पियो एनको बाहिर डिजाइनमा पूर्णत नयाँ बनाएको छ । नयाँ ग्रिल, नयाँ लोगो, नयाँ एलइडी हेडल्याम्प, नयाँ फगल्याम्प, एलइडी डिएलआर, नयाँ स्कीड प्लेट, नयाँ डिजाइनको अलोय ह्वील, फरक किसिमको टेल लाइट, रुफरेल जस्ता नयाँ फिचर दिएको छ ।
नयाँ स्कोर्पियो एनको इन्टेरियर पनि उत्कृष्ट हुने अनुमान गरिएको छ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, टप भेरियन्टमा लेदर सिट, अटोमेटीक एसी, सनरुफ, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, क्रुज कन्ट्रोल जस्ता फिचर रहने छन् ।
यसको टप भेरियन्टमा ६ वटासम्म एयरव्याग, इलेक्ट्रोनीक्स स्ट्याविलीटी कन्ट्रोल र ३६० डिग्री क्यामेरा पनि पाउन सकिने छ । यी बाहेकका अन्य जानकारीको लागि जुन २० तारिखसम्म कुर्नु पर्ने हुन्छ ।


