काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले आफ्नो नयाँ मोडल सिलायन-५ दर्ता गराएको छ । दर्दासँगै नयाँ मोडलको डिटेल पनि बाहिर आएको हो ।
चीनमा रहेका आफ्ना सबै प्लान्टबाट उत्पादन सुरु गर्ने तयारी थालेको बीवाइडी सिलायन-५ पाँच सिट क्षमताको एसयूभी हो । यसको साइज पनि कम्प्याक्ट रहेको छ । सार्वजनिक भएको विवरण अनुसार नयाँ एसयूभीको लम्बाइ ४५२० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६३० एमएम रहेको छ । यसमा २७२० एमएम लामो ह्वील वेस पाउन सकिन्छ ।
कम्पनीले यसलाई प्योर इलेक्ट्रीक र हाइब्रिड गरी दुई अप्सनमा ल्याउने भएको हो । यी दुईमा ईभीभन्दा हाइब्रिड कार ११० किलोग्राम कम तौलमा आउने छ । दुबै भर्सनको टप स्पीड भने समान १८० किलोमिटर प्रतिघन्टा रहने छ ।

बीवाइडीले यसअघि सिलयन-५ डीएमआई हाइब्रिड मोडल सेप्टेम्बर २३ तारिखमै सार्वजनिक गरेको थियो । कम्पनीले अव नयाँ इलेक्ट्रीक मोडल चाँडै बजारमा ल्याउने भएको हो । यसमा रहने अन्य फिचर र ब्याट्री साइजको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।
कम्पनीले यसमा १४० र १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएर ल्याउन लागेको हो । सिलायन-५ कम्पनीको सिलायन सिरिजमा आउने दोस्रो प्योर इलेक्ट्रीक मोडल हो ।
बीवाइडी एटो-३ भन्दा थोरै माथिल्लो सेग्मेन्टमा आउने सिलायन-५ नेपाली बजारको लागि पनि उपयुक्त मोडल हुने देखिन्छ ।

