‘सेकेन्ड ह्याण्ड कार’मा हुलास फिनले ६०% सम्म कर्जा दिने

काठमाडौं । रिकन्डिन कार किन्नेलाई हुलास फिन सर्भ लिमिटेडले कर्जा उपलब्ध गराउने भएको छ । गोल्छा ग्रुप अन्तर्गतको यो कम्पनीले रिकन्डिसन बजारमा खरिद विक्री हुने गाडीलाई मूल्याङ्कनको आधारमा ५० देखि ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने भएको हो ।

हुलास फिन सर्भ २०६८ सालदेखि नै सक्रिय इन्भेष्टमेन्ट कम्पनी हो । यसअघि हुलास इन्भेष्टमेन्टको नामबाट संचालित यस कम्पनीको नाम यही २०७८ साल असार २८ गतेबाट परिवर्तन गरी हुलास फिन सर्भ लिमिटेड बनाएको हो ।

विगतदेखि नै बजाज मोटरसाइकल र बजाजको तीन पाङ्ग्रे अटो रिक्सामा लगानी गर्दै आएको हुलास फिन सर्भले अब रिकन्डिन कारमा पनि लगानी गर्ने भएको हो ।

‘हामीले अहिले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गरेर करिब ६० हजार सवारी साधनमा कर्जा दिएका छौं । हाम्रो अटोमोबाइल कर्जाको अनुभवलाई मध्यनजर गर्दै सेकेन्ड ह्याण्ड कारमा पनि कर्जा दिन नयाँ प्रोडक्ट सार्वजनिक गरेका हौं,’ हुलास ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।

गोल्छाका अनुसार बैंकले कर्जा प्रवाह गर्दा चाहिने सबै किसिमका डकुमेन्ट कर्जा आवेदकले पेश गर्नुपर्ने हुन्छ । आम्दानीको स्रोतदेखि कम्पनीको हकमा ब्यालेन्स सिट चाहिन्छ । साथै, यहाँबाट कर्जा लिँदा एक जना जमानी बस्ने मानिस भने अवश्यक पर्छ ।

कम्पनीले अहिले चल्तीका ब्राण्डका गाडीमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । नयाँ प्रोडक्ट भएकाले आक्रमक रूपमाभन्दा पनि बजारको माग र मानिसको आवश्यकता पूरा गर्ने किसिमले कर्जा लगानी गर्ने योजना तयार भएको गोल्छाको भनाइ छ ।


Back_to_top