काठमाडौं । अहिले नेपालमा नयाँ कारको बिक्री पछिल्लो एक दशक यताकै सबैभन्दा कमजोर अवस्थामा छ । सरकारले गरेको आयात प्रतिबन्ध, मानिसको कमाईमा आएको ह्रास र पैसा कमाउने मानिसले पनि खर्च गर्ने आँट गर्न नसक्दा नयाँ कारको बिक्रीमा उच्च गिरावट आएको हो ।
नयाँ नबिके पनि पुराना गाडी बिक्री गर्न चाहने धेरै भएको कारण अहिले बजारमा सेकेन्ड ह्याण्ड कारको सप्लाई पनि अहिले बढी देखिन्छ । यथार्थमा गाडीको सप्लाई कम भएको होइन, किन्ने मानिस कम भएका हुन् । अहिले गाडी किन्ने योजना बनाएका धेरै मानिसले आफ्नो मन बदलेका छन् । बरु केही समय दुःख सहेर भएपनि आफ्नो आर्थिक अबस्था नाजुक हुन नदिने रणनीतिमा उपभोक्ता लागेका छन् । त्यसकै परिणाम गाडी किन्ने मानिस नै भेटिन छाडे जस्तो देखिन्छ ।
उपत्यकामा मात्रै सेकेन्ड ह्याण्ड कारको कारोबार गर्ने तीन दर्जन बढी कम्पनी संचालनमा छन् । उनिहरुको बिक्री केन्द्रमा दर्जनौ गाडी बिक्रीको लागि राखिएका छन् । यसअघि फास्ट मूभिङ भनिएका साना गाडी पनि अहिले प्रसस्त पाउन सकिन्छ ।
अहिले सेकेन्ड ह्याण्ड गाडीको बिक्री न्यून हुँदै जानुलाई अर्थतन्त्रसँग जोडेर हेर्न सकिन्छ । सरकारदेखि निजी प्रयोजनको लागि ठूला गाडी किन्ने मानिसको संख्या पहिला बढ्नु पर्छ । त्यसपछि मात्रै सेकेन्ड ह्याण्ड र साना नयाँ साधनको बिक्री बढ्छ ।
नयाँ किन्ने कम हुँदा पुराना बिक्री हुन छाडे
नयाँ गाडी र पुराना गाडीको अन्तरसम्बन्ध हुन्छ । जति धेरै नयाँ गाडी बिक्री हुन्छ, त्यति नै धेरै रिकन्डिसनमा गाडी आउने हो । मानिसको गाडी किन्ने क्षमता वृद्धि हुँदा धेरै आम्दानी हुनेले नयाँ गाडी किन्लान् भने थोरै आम्दानी हुनेले रिकन्डिसनबाट आफ्नो आवश्यकता पुरा गर्न सक्छन् ।
पछिल्ला दुई वर्ष निरन्तर नयाँ गाडीको बिक्रीमा गिरावट आएको कारण रिकन्डिसनमा पनि गाडी बिक्री घटेको हो । अहिले नयाँ र पुराना दुबै गाडीको बिक्री घटेको अवस्था छ ।
कर्जा पाउनै कठिन
नयाँ कार किन्नेले समेत कर्जा पाउन नसकेको समयमा पुराना गाडीले कर्जा सुविधा पाउन सक्ने अवस्था रहेन । बैंकले गाडीमा दिने कर्जाको जोखिमभारलाई ७० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएपछि गाडीमा कर्जा दिन कम गरिएको थियो ।
अहिले पुराना गाडी किन्न चाहने ग्राहकले निजी क्षेत्रले संचालन गरेको इन्भेष्टमेन्ट कम्पनीहरुले लगानी गर्दै आएका छन् । तुलनात्मक रुपमा महंगो ब्याजदर हुने कारण इन्भेष्टमेन्ट कम्पनीहरुबाट ग्राहकले कर्जा लिन नचाहदा पुराना गाडी बिक्री हुन सकिरहेको छैन ।
आर्थिक संकटले निम्ताएको डर
अहिले गाडी बिक्री नहुनुमा मुख्यत आर्थिक संकटको कारणलाई मुख्य रुपमा लिनु पर्छ । आर्थिक संकटबाट गुज्रिएको कारण बजारमा चहलपहल नै बन्द भए जस्तो छ । सेयर बजार, घरजग्गा कारोबार जस्ता ठूला आर्थिक गतिविधि हुने क्षेत्र निरन्तर ओरालो लागेको कारण बजार ठप्प छ ।
अझै, बजारमा आर्थिक गतिविधि चलायमान हुन नसकेको कारण आर्थिक संकट लम्बिने आँकलन गरिएको छ । आर्थिक गतिविधि चलायमान नभएसम्म नयाँ र पुराना कारको बिक्रीमा वृद्धि हुने देखिदैन ।


