दैनिक ५ हजार रुपैयाँ तिरेर कार भाडामा पाइने

काठमाडौं । तपाईसँग निजी कार छैन । तर, आफ्नो कामको लागि वा परिवार तथा साथीभाइसँग घुम्न आफैँ कार चलाएर हिड्ने योजना छ भने निकै राम्रो मूल्यमा गाडी भाडामा लिन पाइने भएको छ ।

काठमाडौंको थापाथली स्थित ट्रेड टावरमा संचालन रहेको ‘स्पार्क कार’ले दैनिक ५ हजार रुपैयाँबाटै कार भाडामा उपलब्ध गराउँदै आएको छ । ‘सेल्फ ड्राइभ नेपाल’ नामबाट संचालित उक्त रेन्टल सर्भिसमा आफ्नो आवश्यकता अनुसार सबैरेन्जका कार उपलब्ध छन् ।

कम्पनीले विदेशबाट आउने मानिसको आवश्यकतालाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत काउन्टर संचालन गरिरहेको कम्पनीले जनाएको छ । सेल्फ ड्राइभ नेपालका कारहरु अनलाइन मार्फत पनि बुकिङ गर्न सकिन्छ ।

सेल्फ ड्राइभमा उपभोक्ताको आवश्यकता पुरा गर्न पेट्रोल र डिजेलबाट चल्ने म्यानुअल र अटोमेटिक कारहरु उपलब्ध छन् । कम्पनीले ईभी खोज्नेको लागि विद्युतीय कारहरु पनि उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार उपत्यका भित्र यात्रा गर्नेले दैनिक ५ हजार तिरेर फोर्डको फ्रिस्टाइल, हुन्डाईको आई–१०/सेन्ट्रो, सुजुकी सेलेरियो जस्ता ह्याचव्याक कारहरु पाउने छन् । चलाउन भने आफैँ पर्नेछ ।

म्यानुअल एसयूभीहरु क्रेटा, सेल्टोस, ब्रेजा, किक्स, डस्टर जस्ता पेट्रोलबाट चल्नेको लागि दैनिक ८ हजार रुपैयाँ तिर्नु पर्ने कम्पनीको भनाइ छ । अटोमेटिक र इलेक्ट्रीक गाडीको लागि भने दैनिक १० हजार रुपैयाँ तोकिएको छ । यसमा बीवाइडी एटो–३, हुन्डाई कोना र सेरेस थ्री जस्ता एसयूभी छन् । यदि, यी गाडी उपत्यका बाहिर लानु पर्ने हो भने दैनिक २ हजार रुपैयाँ अतिरिक्त तिर्नु पर्ने हुन्छ ।

सेल्फ ड्राइभ नेपालले फोर्ड एभरेष्ट, इसुजु एमयूएक्स, मित्सुवीसी आउटल्याण्डर, महिन्द्रा स्कर्पियो जस्ता एसयूभी र फोर्ड रेन्जर जेएसीका पीकअप ट्रक पनि उपलब्ध गराएको छ । यी ठूला गाडी उपत्यकाको हकमा दैनिक १५ हजार र उपत्यका बाहिरको लागि दैनिक २० हजार तिरेर लिन सक्नेछन् ।

यी पिकअप र एसयूभीहरु मासिक रुपमा लिन चाहनेले २ लाख ५० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म तिरेर लिन सक्छन् ।

स्र्पाक सेल्फ ड्राइभबाट कार भाडामा लिनेले इन्स्योरेन्स, जति चलाएपनि पाइने सुविधा, २४/७ रोडसाइड असिस्ट, २४/७ कस्टुमर केयर, गाडी बिग्रिएमा तुरुन्तै रिप्लेसमेन्ट सुविधा पाउने छन् ।

गाडी भाडामा लिन चाहिने कागजपत्र

स्पार्कको सेल्फ ड्राइभबाट गाडी भाडमा लिनेले कागजपत्र पनि साथमा लानु पर्छ । कम्तीमा ३ वर्ष पहिला लिएको ड्राइभिङ लाइसेन्स, पार्सपोर्ट वा नागरिकताको फोटो कपी, आफुले चलाउने रुटको प्लान बुझाउनु पर्ने हुन्छ ।

गाडी लाँदा नै समय तोकेर अग्रिम भुक्तानी गर्नु पर्नेछ । कम्पनीले गाडीमा इन्धन भरेर दिने भएको कार छाड्दा पनि भरेर नै छाड्नु पर्ने हुन्छ । ईभीको हकमा पनि चार्जमा त्यही लागु हुनेछ ।

कम्पनीबाट गाडी लिँदा सेक्यूरिटी डिपोजीटको रुपमा १ लाख नगद वा १० लाख रुपैयाँ बराबरको चेक छाड्नु पर्ने हुन्छ । विदेशी नागरिकको हकमा भने इन्टरनेशनल ड्राइभिङ पर्मिट, पासपोर्टको कपी र सेक्यूरीटी डिपोजिटको रुपमा मास्टर वा भिसा कार्डको एक्सेस दिनु पर्ने कम्पनीले जनाएको छ ।


Back_to_top