काठमाडौं । भारतमा सेप्टेम्बर महिनाको सबै गाडीको सेल्स रिपोर्ट बाहिर आएको छ । नयाँ सेल्स रिपोर्ट अनुसार सब फोर मिटर एसयूभी सेग्मेन्टमा सबै गाडीको बिक्री बढेको तथ्यांक सार्वजनिक भएको छ ।
यो सेग्मेन्टमा पहिलो स्थान किया सोनेटले कब्जा जमाएको छ । सेप्टेम्बर १८ बाट भारतमा बिक्री सुरु भएको सोनेट ९ हजार २६६ यूनिटसँगै पहिलो स्थानमा पर्न सफल भएको छ ।
त्यसैगरि यसको मुख्य प्रतिस्पर्धीको रुपमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू रहेका छन् । दोस्रो स्थानमा रहेको ब्रेजा ९ हजार १५३ यूनिट बिक्री भएको छ ।
हुन्डाई भेन्यूले सोनेट र ब्रेजालाई पच्छाउने क्रममा ८ हजार ४६९ यूनिट बिक्री गरेको छ ।
सव फोर मिटर एसयूभीको सूचीमा टाटा नेक्सन चौथो स्थानमा रहेको छ । टाटा नेक्सनको बिक्री अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा १११ प्रतिशतले वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले २०१९ सेप्टेम्बरमा २ हजार ८४२ यूनिट नेक्सन बिक्री गरेकोमा यस वर्षको सेप्टेम्बरमा ६ हजार ७ यूनिट बिक्री गर्न सफल भएको छ ।
महिन्द्रा एक्सयूभी ३०० ले फोर्ड इको स्पोर्टलाई उछिनेको छ । यसअवधिमा एक्सयूभी ३०० को बिक्री ३ हजार ७०० यूनिट भएको छ भने फोर्ड इकोस्पोर्टको बिक्री ३ हजार ५५८ यूनिट रहेको छ ।
यहि सेग्मेन्टमा बिक्री हुँदै आएको होन्डा डब्ल्यूआरभी १ हजार १२४ यूनिट बिक्री भएको तथ्यांक सार्वजनिक भएको छ ।
यी माथि उल्लेख भएका सबै सब फोर मिटर एसयूभी नेपाली बजारमा बिक्री वितरण भइरहेको छ भने किया सोनेटको बुकिङ खुल्ला भएको छ ।

