काठमाडौं । नेपाली राष्ट्रिय टीमका क्याप्टेन रोहित पौडेल पनि कार ब्राण्डसँग जोडिएका छन् । पौडेललाई लीपमोटर, सिट्रोन र प्यूजोको आधिकारिक वितरक साँग्रिला मोटर्सले ब्राण्ड एम्बेस्डर बनाएको हो ।
तीन वर्षको लागि साँग्रिला मोटर्स र पौडेल बीच साझेदारी गर्ने सम्झौंता भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । गोल्छा अर्गनाइजेसनको सदस्यको रुपमा साँग्रिला मोटर्सले नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पु¥याउने लक्ष्य लिएको छ ।
युरोपियन ब्राण्ड प्यूजो र सिट्रोनसँगै चिनियाँ ब्राण्ड लीपमोटरका गाडी अहिले नेपाली बजारमा उपलब्ध छन् । विशेषगरी पेट्रोलियम पदार्थबाट चल्ने र इलेक्ट्रीकबाट चल्ने कारहरु यी ब्राण्डसँग उपलब्ध छन् ।
राष्ट्रिय टीमका कप्तान पौडेलले आफ्नो टोलीलाई मैदानमा कुशल नेतृत्व दिए जसरी नै लीपमोटर र सिट्रोनका कारले अटोमोटिभ बजारमा उन्नत प्रविधि र विश्वस्तरीय रहेको कम्पनीको भनाइ छ । यी दुईको मिश्रणबाट नेपाली उपभोक्ता माझ परिचित बन्ने लक्ष्य राखिएको विज्ञप्तीमा उल्लेख छ ।
अहिले लीपमोटरको सी–१० एसयूभी निकै सफल एसयूभी बन्दै गएको छ । साथै, सिट्रोन सीथ्री र इसीथ्री पनि बजेट कारको रुपमा परिचित रहेको छ ।

