सिनामंगलको इन्धन डिपो सार्न साढे ६ अर्ब लाग्ने, डीपीआर तयार

काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाइ इन्धन डिपो स्थानन्तरण गर्न साढे ६ अर्ब रुपैयाँ लाग्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार उक्त डिपो सार्न ६ अर्ब ५४ करोड २९ लाख रुपैयाँ लागत लाग्ने देखिएको हो ।

संस्थानले ७ महिना लगाएर तयार पारेको डीपीआर बिहीबार नेपाल आयल निगमलाई बुझाएको हो ।

डीपीआर अनुसार उक्त डिपो स्थानन्तरण गर्न ३ वर्ष लाग्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ इन्धन डिपो निर्माण गर्न गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानको ६० रोपनी जग्गा दिने बताएको छ । यद्यपि, प्राधिकरणले अझै निगमलाई स्वामित्व हस्तान्तरण गरेको छैन । प्राधिकरणबाट तोकिएको जग्गाको स्पष्ट सीमाङ्कन (चारकिल्ला छुट्याउने), साइट क्लिरेन्स लगात काम पनि भएको छैन ।

डीपीआर अनुसार नयाँ इन्धन डिपो ‘अमेरिकी पेट्रोलियम इन्स्टिच्युड’ (एपीआई) मापदण्ड अनुसारको हुनेछ । इन्धन भण्डारणका लागि ८ ‘भर्टिकल ट्यांक’ निर्माण गरिने छ । सोमध्ये हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ ।

त्यस्तै, डिपोमा अग्नि सुरक्षाका लागि २ हजार १०० किलोलिटर क्षमताका २ वटा स्टाटिक वाटर ट्यांक र पूर्णस्वचालित फायर फाइटिङ सिस्टम जडान गरिने छ ।

यसैगरी, इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘बे’ निर्माण गरिने छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् ।

यसबाहेक प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मतसम्भार यार्ड र सुरक्षार्थ खटिने नेपाली सेनाका लागि छुट्टै आवासीय तथा कार्यकक्ष समेत निर्माण गरिने छ ।

अन्तर्राष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको सिनामङ्गलस्थित डिपोका कारण हवाई उड्डयन क्षेत्रसमेत जोखिममा रहेको अवस्थालाई मध्यनजर गरी डिपो स्थानान्तरण गर्न लागिएको हो ।

सिनामंगल डिपोका कारण विमानस्थलमा सुरक्षा चुनौती थपिएको भन्दै सरकारले २०८१ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकका उक्त डिपो विमानस्थलको उत्तरतर्फको गौचर क्षेत्रमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थलको धावन मार्गदेखि ट्याक्सी वेबीच हुनुपर्ने निश्चित दूरी कायम गर्न निगमको डिपो करिब आधा हटाउनुपर्ने अवस्था रहेको छ । मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर हुनुपर्ने अन्तरराष्ट्रिय मापदण्ड भए पनि अहिले विमानस्थलमा सो दूरी करिब ९० मिटर मात्रै रहेको छ ।

पछिल्लो समय हवाई साधनको चाप बढेको तथा हवाई इन्धनको मौज्दात कम हुँदै गएकाले पनि डिपो स्थानान्तरणको आवश्यक भएको निगमको भनाइ छ ।


Back_to_top